Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरपालिकाले गरेको काम प्रशंसा योग्य छ : गगन थापा

बिहीबार, फागुन ८, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् ।

samridhi jewllers

नित्यनाथ सत्तलको पुनः निर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा महानगरले गरेको कामको प्रशंसा गरे । उनले भने, ‘जन सरोकारका काममा यसअघि संघ र प्रदेश सरकारसँग बजेट माग्नु पर्थ्यो अहिले महानगरले बजेटको अभाव महसुस हुन दिएको छैन । यो राम्रो काम हो ।’

महानगर-८, नवाली टोलमा रहेको १९औँ शताब्दीमा निर्मित सत्तल पुनः निर्माणको महामन्त्री थापासहित, वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरूले एकै पटक पाँच ठाउँमा जग राखेर शिलान्यास गरेका छन् । सत्तल पुनः निर्माणका लागि करबाहेक रु. दुई करोड २७ लाखमा निर्माण पक्षसँग सम्झौता भएको छ ।

तीन तले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइने महानगरले जनाएको छ । तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नुपर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये आज गरिएको पूजालाई विशेष रूपमा मानिन्छ ।

विसं १९९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनः निर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । वडाध्यक्ष संगतले भने, ‘सांस्कृतिक सहरको पहिचान कायम गराउन परम्परागत शैलीमा सत्तलको पुनः निर्माण गर्न लागिएको हो ।

वडाभित्रका चार वटा फल्चा विसं २०७९ यता पुनः निर्माण भइसकेका छन् । अतिक्रमित जग्गा स्वामित्वमा लिएर वत्सलेश्वरी जात्रा सञ्चालनका लागि फल्चा निर्माण भइरहेको छ । इना गणेश मन्दिर, इँटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनः निर्माण सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्