नेभिगेशन
ब्लग

पुल भत्किँदा नरिवल बेच्नेलाई पक्राउ गरेको कथा जस्तै सरकारले पोखरा बेलुन प्रकरणमा हावा भर्नेलाई समात्यो

एउटा पुरानो कथा छ । तपाईले सुनिसकेको वा पढिसकेको हुनुहुन्छ भने एक पटक पुन: ताजापन ल्याउनुहोला । पढ्नु भएको वा सुन्नु भएको छैन भने गजब छ । ध्यान दिनुहोला ।

कुनै ठाउँमा खोलामा पुल नभएर समस्या थियो । ठेकेदारले पुल बनाएछ । पुलको उद्घाटन साना मान्छेले गर्दैनन् । मन्त्रीले गर्ने भएछन् । मन्त्री आए । स्वागत गरियो । पण्डित बोलाएर पुजापाठ भयो । पण्डितले पुजेको नरिवल पुलमा फोरेर उद्घाटन गरिने भयो । मन्त्रीले नरिबल समाए । हातमा नरिबल बोकेर मन्त्रीले पुल ठ्याक्क सुरू हुने ठाउँमा हाने । पुल त्यहि ठाउँमा चर्कियो । र हेर्दाहेर्दै सबै पुल भत्कियो ।

मन्त्रीले बेइज्जतिको अनुभव गरे । उनले तत्काल छानविन समिति बनाइयो । पुल भत्किनुको कारणसहित ७ दिनमा प्रतिवेदन सार्वजनिक भएछ । प्रतिवेदन सार्वजनिक हुँदा लेखिएको पाइयो, पुल भत्किनुको कारण नरिबल सामान्य नभएकाले बढि चोट पुर्याएको भएर पुल भत्कियो । नरिवलवाला दोषी ठहरियो र उसलाई पक्राउ गरियो । पुल बनाउने ठेकेदार मन्त्रीको आफ्नो मान्छे थियो भन्ने बारेमा खासै चर्चा भएन । छानविन समितिले काम सक्यो । सबै दंग ।

माथिको यो कथा पढिरहदा तपाईलाई नेपालमा भर्खरै भएको घटना सम्झना भयो कि भएन ? पक्कै भएको हुनु पर्छ । 

गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन बिस्फोट भएको थियो । हाइड्रोजन भरिएको बेलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । सोही दिन बेलुनमा एकजनालाई घटनाको दोषीकारूपमा पक्राउ गरियो । ति थिए, ४१ वर्षीय कमलेस कुमार । उनको दोष भनिएको छ, उनले बेलुनमा हाइड्रोजन ग्याँस भरे ।

पोखराको भ्रमण वर्ष घोषणा गर्ने दिन, जुन दिन दुर्घटना भयो, त्यो दिनको तयारीको लागि घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका थिए । ती समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेका थिए । 

यति धेरै समिति र उपसमिति जोडिए पनि त्यसमा रहेका कोही पनि दुर्घटनाको कारणमा गनिएनन् । 

दुर्घटना हुँदा विशेष त्यस्तो अवस्था केहि भएको थियो कि जसले गर्दा बेलुनमा ग्याँस भर्नेलाई नै समातियो भन्ने पनि सन्देह उब्जिन सक्छ । दुर्घटना हुँदाको भिडियो नै सार्वजनिक भएको अवस्थामा त्यसको व्याख्याले यो सन्देहको धरातल प्रस्ट पार्न सक्छ । 

भिडियो हेर्दा देखिन्छ, आगोको झिल्को छोडिरहेको ठाउँमा एकजनाले बेलुन तान्दै ल्याउँछन् । उनी त्यहाँ ल्याएर बेलुनमा ब्यानर टाँसेर उडाउन खोजेका हुन्छन् । त्यहि ठाउँमा नपुग्दै झिल्काले बेलुन भेट्छ । ठुलो आगोको लप्का छोड्दै सबै बेलुन एकैसाथ पड्किन्छन् । 

प्रश्न गर्नु पर्ने ठाउँ यहाँनेर छ । यदि बेलुनमा ग्याँस भर्ने समातिन्छन् भने बेलुनलाई झिल्का उड्दै गरेको ठाउँमा लैजानेलाई समात्न पर्छ कि पर्दैन ? किनकि बेलुनमा हाइड्रोजन ग्याँस नभए पनि मुखैले फुकेको भए पनि झिल्काले बेलुन पड्काउन सक्थ्यो । हो, त्यति बेला आगो उठ्दैन थियो तर बेलुन त पड्किन्थ्यो । मुर्खता त त्यहाँ पनि छ । 

तर दुर्घटना हुनका लागि कारक भएकाहरू सबैमाथि पक्राउ गरिएन । हजार जना भन्दा बढि भएका समिति र उपसमितिहरूलाई प्रश्न गरिएन । त्यो फगत: अञ्जानमा भएको दुर्घटना थियो कि नियोजित षड्यन्त्र भन्ने सोधिएन । माथि कथामा नरिबल बेच्नेलाई समाते जस्तै बेलुनमा हाइड्रोजन ग्याँस भर्नेलाई समातियो । 

हामी जुन हास्यास्पद अवस्थाका कथा पढेर हास्छौँ, त्यहि समय बाँचिरहेका छौँ । यसको उदाहरण पोखराको बेलुन प्रकरण हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप ब्लग

'नरूचाइएको सुपरस्टार'