नेभिगेशन
राजनीति

अन्तिम राजा ज्ञानेन्द्रसँग प्रचण्ड–बाबुरामले ०६० सालमा सहकार्यका लागि प्रस्ताव गरेको खुलासा

काठमाडौं– तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग युद्धमा रहेका बेला माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले सहकार्यको प्रस्ताव गरेको खुलासा भएको छ।

२१ बर्षअघि ०६० सालमा ७ दललाई निषेध गरी माओवादीसँग मिलेर जानका लागि प्रचण्डको प्रस्ताव डा. बाबुराम भट्टराईले शान्ति वार्ताका क्रममा राखेको चर्चा थियो।

त्यसैको जगमा रहेर ज्ञानेन्द्रले १९ माघ ०६१ सालमा शाही घोषणा गरेका थिए। सो क्रममा ७ दलप्रति आक्रामक देखिएका ज्ञानेन्द्रले माओवादीलाई भने सफ्ट शव्दमा सम्बोधन गरेका थिए। 

दलीय व्यवस्थाका भ्रष्ट भनी ७ दललाई सम्बोधन गर्दा ज्ञानेन्द्रले माओवादीलाई ‘बाटो बिराएकाहरू मूल धारमा आउन’ भनी सम्बोधन गरेका थिए।

माओवादीको प्रस्तावका आधारमा नै ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरेकोसम्मको चर्चा छ। 

यस्तो प्रस्ताव गरिएको खुलासा तत्कालिन गृहमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका छन्।  

युद्धकालमा तत्कालीन राजासँग मिलेर जाने प्रस्ताव ल्याएको नभुल्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्मरण गराएका हुन्। 

प्रजातन्त्र दिवसका अवसरमा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यमाथि भट्टराईले गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै थापाले २१ वर्षअघि राजासँग सहकार्य गर्न तयार भएको नभुल्न आग्रह गरेका हुन्। 

‘स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होइन, संविधान सभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको ममार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आइरहेको छ,’ थापाले भनेका छन्। 

थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हतास मानसिकता देखिएको टिप्पणी गरेका छन्। दल र सरकारलाई कुनै आलोचना नगरेका राजाप्रति खनिनु दुर्भाग्य भएको उनले बताएका छन्। 

देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने अधिकार राजालाई पनि रहेको तर्क उनले गरेका छन्। 

‘देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैन? संविधान प्रदत्त विचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो?’, थापाले प्रश्न गरेका छन्। 

वर्तमान अवस्था र व्यवस्थाप्रति असंतोष प्रकट गरेको कारण राजाको विचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरंकुश रहेको उनले बताएका छन्। 

१८ वर्ष अघि विदेशीको प्रभाव र दबाबमा परेर तयार गरिएको गलत भाष्य जनताले बुझिसकेको तर्क थापाले गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति