Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रकृति लम्साल मृत्यु र केआईआईटी प्रकरणमा बोल्यो मोदी सरकार, भारतीय विदेश मन्त्रालयले यसो भन्यो

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं- भारतको ओडिशा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय विदेश मन्त्रालयले पहिलो पटक प्रतिक्रिया दिएको छ।

मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै भनेका छन्, 'भारत सरकार हाम्रो देशका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, भलाइ र कल्याणलाई उच्च प्राथमिकता दिन्छ।'

 उनका अनुसार, यो घटनाको जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा सरकार र केआईआईटीका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ, साथै नेपालका अधिकारीहरूसँग पनि नजिकको सम्पर्कमा रहेको छ। 

प्रकृति लम्सालको मृत्युपछि केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। तर, विश्वविद्यालय प्रशासनले उनीहरूलाई होस्टेलबाट निष्कासन गरेको थियो। यस घटनापछि नेपाल सरकार र भारतस्थित नेपाली दूतावासले कूटनीतिक पहल गरेका थिए, जसका फलस्वरूप विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीहरूलाई पुनः कलेजमा फर्काउने व्यवस्था गरेको छ। 

यस प्रकरणमा विश्वविद्यालयले दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गरेको छ, साथै दुई सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको छ। 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस घटनालाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन्। उनले सरकार कूटनीतिक तवरले सम्पर्कमा रही आवश्यक कदम चालिरहेको जानकारी दिएका छन्। 

यस घटनाले नेपाल र भारत दुवै देशमा चासो र आक्रोश उत्पन्न गरेको छ, र दुवै देशका अधिकारीहरू यसबारेमा सक्रिय रूपमा संलग्न छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्