एनएसएल अक्सनअघि ७ टिमको अवस्था यस्तो छ
काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि शनिवार खेलाडीको अक्सन (बोलकबोल) हुँदैछ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी चैत १६ गते सुरु हुने एनएसएलमा ७ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
अक्सनअघि सबै टिमले आफ्नो मार्की प्लेअर घोषणा गरिसकेका छन् भने केही टिमले मुख्य प्रशिक्षक पनि सार्वजनिक गरिसकेका छन् । यस्तै आयोजकले यस वर्ष देखि प्लेअर रिटेन्सन पोलिसि पनि लागु गरेको छ । जसअनुसार हरेक टिमले ३ खेलाडी सम्म रिटेन गर्न पाउनेछन् । त्यसमा क्याटेगोरी ए बाट एक र क्याटेगोरी बी बाट दुई खेलाडी रिटेन गर्न सकिनेछ ।
केही टिमले ३ खेलाडीले नै रिटेन गरेका छन् भने केहीले दुई र केहीले एक खेलाडी रिटेन गरेका छन् ।
कुन टिमले कसलाई गरे रिटेन?
दोस्रो संस्करणमा थपिएका तीन मध्ये दुई नयाँ टिम स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडले नाम फिर्ता लिएपछि एनएसएलको तेस्रो संस्करणमा ७ टोलीले मात्र प्रतिस्पर्धा गर्दैछ ।
यस पटक रिटेन्सन पोलिसी लागु भएकोले सहभागि ७ वटै टिमले आफ्नो आवश्यकता अनुसार ३ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान थियो ।
जसमा पहिलो संस्करणको विजेता काठमाडौं रेजर्ससहित पोखरा थण्डर्स, धनगढी एफसी, एफसी चितवन र बुटवल लुम्बिनी एफसीले तीन-तीन खेलाडी रिटेन गरेको छ भने साविक विजेता ललितपुर सिटीले दुई तथा दोस्रो संस्करणमा थपिएको टिम झापा एफसीले एक खेलाडी रिटेन गरेका छन् ।
यसैगरी यस पटक केही टिमले प्रशिक्षक पनि नयाँ घोषणा गरेका छन् । जसमा झापाले प्रवेश कटुवाल, चितवनले नविन न्यौपाने र पोखराले सुमन श्रेष्ठलाई लाई भित्र्याएको छ भने ललितपुर र बुटवल लुम्बिनीले विदेशी प्रशिक्षक रोजेका छन् । साविक विजेता ललितपुरले आईएसएल क्लब बेंगलुरुको प्रशिक्षण सम्हालिसकेका इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई अनुबन्ध गरेको छ भने बुटवल लुम्बिनीले भुटानका प्रो लाइसेन्ट होल्डर पुष्पलाल शर्मालाई अनुबन्ध गरेको छ ।
धनगढी एफसीले सहायक प्रशिक्षक घोषणा गरेपनि मुख्य प्रशिक्षक घोषणा गरेको छैन । काठमाडौं रेजर्सले पनि प्रशिक्षक सार्वजनिक गर्न बाँकी छ ।
सहभागि टिमले घोषणा गरेकी मार्की र रिटेन गरेका खेलाडीको सूची यस प्रकार छ ।
काठमाडौं रेजर्स
मार्की प्लेअर : रोहन कार्की
रिटेन : दिपेश गुरुङ, कुलदिप कार्की, अभिषेक बराल
पोखरा थण्डर्स
मार्की प्लेअर : समिर तामाङ
रिटेन : आयुष घलान, पदम भट्टराई, नरेन्द्र चौधरी
धनगढी एफसी
मार्की प्लेअर : कृतिश रत्न छुन्जु
रिटेन : देवेन्द्र तामाङ, रनदिप पौडेल, रामचन्द्र वाजी
एफसी चितवन
मार्की प्लेअर : अन्जन विष्ट
रिटेन : विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना मगर
बुटवल लुम्बिनी एफसी
मार्की प्लेअर : मनिष डाँगी
रिटेन : एरिक विष्ट, सरोज तामाङ, निराजन धामी
ललितपुर सिटी एफसी
मार्की प्लेअर : अनन्त तामाङ
रिटेन : सनिश श्रेष्ठ, आदित्य शाक्य
झापा एफसी
मार्की प्लेअर : घोषणा हुन बाँकी
रिटेन : छिरिङ लामा (प्रशान्त लक्षमलाई पनि रिटेन गरिएपनि पछि हटाइएको)*
पहिलो पटक मिनी अक्सन
आयोजकले यस पटक एनएसएलमा मिनी अक्सन गर्न लागेको छ । नेपाली खेलकुद इतिहासमै मिनी अक्सन हुन लागेको एनएसइएमको दावी छ ।
मिनी अक्सनका लागि आयोजकले जम्मा ६० खेलाडीको नाम मात्र सार्वजनिक गरेको छ । जसमा क्याटेगोरी ए बाट १५ र बी बाट ४५ खेलाडी छन् ।
आज यही ६० खेलाडीलाई अनुबन्ध गर्नका लागि अक्सन हुनेछ । यस पछि सी क्याटेगोरीका खेलाडीहरु ड्राफ्टमार्फत टिममा समावेश गर्न सकिने आयोजकले जनाएको छ ।
सहभागि टिमले रिलिज गरेका बाँकी खेलाडीहरुल अक्सनका लागि सूचीमा समावेश भएका छन् । तर आयोजकले प्राविधिक सहयोगी एन्फासँग सहकार्यमा अक्सनका लागि ६० खेलाडीको नाम मात्र सार्वजनिक गरेको हो ।
कस्तो हुनेछ टिम कम्बिनेसन?
एनएसएलको तेस्रो संस्करणमा हरेक टिममा २२/२३ खेलाडी हुने आयोजकले जनाएको छ ।
त्यसमा एक जना मार्की खेलाडी हुनेछन् । सबै टिमले सुरुमा आफ्नो मार्की प्लेअर घोषणा गरिसकेका छन् ।
यस्तै अक्सनअघि मार्की घोषणासहित ३ खेलाडीसम्म रिटेन गर्न पाउनेछन् । त्यसमा टिमहरुले आफूअनुकल हुने गरी १ देखि ३ खेलाडीसम्म रिटेन गरेको छ । रिटेन्सन पोलिसी अनुसार क्याटेगोरीबाट अनिवार्य एक खेलाडी रिटेन गर्नुपर्नेछ । बाँकी अन्य क्याटेगोरीबाट रिटेन गर्न सकिनेछ । ७ वटै फ्रेन्चाइजले क्याटेगोरी ए बाट एक-एक खेलाडी पनि रिटेन गरिसकेका छन् ।
अक्सनमा फ्रेन्चाइजहरुले क्याटेगोरी ए र बी बाट आफ्नो टिममा खेलाडी अनुबन्ध गर्नेछन् ।
आयोजकले यसअघि सार्वजनिक गरेको प्रेस विज्ञप्ती अनुसार हरेक टिमले रिटेन्सनसहित क्याटेगोरी ए बाट २-३ खेलाडी राख्न सक्नेछन् । यस्तै क्याटेगोरी बी बाट ६ खेलाडी टिममा राख्न पाउनेछ ।
अक्सनपछि फ्रेन्चाइजले ड्राफ्टमार्फत क्याटेगोरी सी का खेलाडीहरु अनुबन्ध गर्नेछन् ।
यस बाहेक टिमले क्याटेगोरी सी बाट ४ तथा क्याटेगोरी डी बाट १ खेलाडी अनुबन्ध गर्न पाउने आयोजकले जनाएको छ ।
यस्तै १ रुकी खेलाडी रहनेछ भने ६ जना विदेशी/आइकोनिक खेलाडी हुनेछन् । विदेशीमा १ खेलाडी एसियाबाटै हुनुपर्नेछ । यसैगरी विदेशमा रहेका नेपाली खेलाडिहरुलाई पनि अवसर प्रदान गर्न १ एनआरएन वैकल्पिक कोटा पनि राखिएको छ ।