हमासले शुक्रबार फिर्ता गरेको अवशेष शिरी बिबासको भएको पुष्टि
जेरुसेलम- शुक्रबार इजरायलमा फिर्ता गरिएका अवशेषहरूमध्ये सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले बन्धक बनाएका इजरायली नागरिक शिरी बिबास भएको पुष्टि उनको परिवारले शनिबार जनाएको छ ।
रेड क्रसको अन्तर्राष्ट्रिय समितिले शुक्रबार कसको हो भनी नबताई थप मानव अवशेषहरू इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरेको बताएपछि नीर ओजको इजरायली किब्बुट्ज समुदायले शनिबार बिबासको मृत्युको घोषणा गरेको थियो ।
“इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनमा पहिचान प्रक्रियापछि आज बिहान हामीले शिरी बिबासको मृत्युको प्रमाण पायौँ । “ शिरीलाई बन्धक बनाएपछि हत्या गरिएको थियो र अहिले उनी आफ्ना छोराहरू, पति, बहिनी र परिवारका सबै सदस्यहरूलाई आराम दिन घर फर्किएकी छिन्,” बिबास परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “उनीहरूको भाग्यको लागि हाम्रो डरको बावजुद अब हामी शिरीसँग छुट्टिएका छौँ र यसले हामीलाई दुःखी बनाएको छ ।”
“करिब १६ महिनादेखि हामीले निश्चितता खोजेका थियौँ र अब हामीसँग कुनै सान्त्वना दिने आशा छैन, अब शिरीको खोजीको अभियान टुङ्गिएको छ,” परिवारले इन्स्टाग्राममा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बिहीबार हमासले शिरी बिबास, उनका दुई साना छोरा र एक वृद्ध बन्धकको भन्दै चार वटा शव हस्तान्तरण गरेको थियो ।
उनका दुई छोरा र बन्धक बनाइएका वृद्धको शवको सकारात्मक पहिचान भए पनि इजरायली अधिकारीहरूले चौथो शव शिरी बिबासको नभएको बताएका थिए ।
हमासले शुक्रबार नै शवको सम्भावित ‘घुलमिल’ भएको हुनसक्ने भन्दै रेडक्रसलाई नयाँ अवशेष हस्तान्तरण गरेको थियो।
हमासले लामो समयदेखि इजरायलको हवाई आक्रमणमा बिबास र उहाँका छोराहरू केफिर र एरियलको मृत्यु भएको बताउँदै आएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गाजामा युद्ध सुरु गरेपछि बिबास परिवार इजरायलले भोग्नुपरेको बन्धकको पीडाको प्रतीक बनेको थियो ।