एनएसएलमा छैन सुहाङको क्लब, राजनीतिक लाभमा खेलकुदको भावनात्मक दुरूपयोग ?
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा सुहाङ नेम्बाङ कुनै नेता थिएनन् । उनी एक फुटबल समर्थक, वकिल र पूर्वसभामुख सुवासनेम्बाङका छोरा थिए । तर, उनमा फुटबलप्रतिको ठूलो लगाव थियो । फुटबलमा केही गर्नुपर्छ भन्ने उनको जोशले एनएसएलको दोस्रो सिजनमाउनलाई स्पोर्टिङ इलाम टिममा लगानी गर्न प्रेरित गर्यो । यो कदमसँगै उनी उक्त टिमका मालिक बने र फुटबल क्षेत्रमा आफ्नो पहिचान बनाउन थाले ।
यसैबीच, इलाममा उनका बुवा सुवास नेम्बाङको निधन भयो । त्यसपछि नेकपा (एमाले) ले सुहाङलाई इलाम-२ को उपचुनावका लागि टिकट दियो ।टिकट दिनुको पहिलो कारण उनको युवा वर्गमाझ लोकप्रियता थियो, जुन मुख्य रूपमा फुटबलसँगको उनको संलग्नताले बढेको थियो । चुनावी दौडानमा सबैतिर फुटबलको निकै चर्चा भयो ।
इलाम फुटबलको उर्वर भूमि हो, जहाँबाट नवयुग श्रेष्ठलगायत धेरै खेलाडी जन्मिएका छन् । त्यहाँ हुने "माई भ्याली कप" नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हो, जसको सम्मान यति धेरै छ कि दर्शकहरू घरबाट खेल हेर्न गए पनि टिकट काटेर स्टेडियम पुग्छन् ।
सुहाङको फुटबलमा योगदान र उनको टिमसँगको सम्बन्धले उनलाई मतदातासँग जोड्न मद्दत गर्यो, जुन उनको चुनाव जित्नको लागि एकदमै प्रमुख कारण बन्यो । चुनाव जितेर प्रतिनिधिसभा सदस्य बनेपछि भने उनले नेपाली फुटबल खेलबाट हात झिकेका छन् । कुनै बेला 'मेरो पनि क्लब छ, नाम सुन्या होला भन्ने लाग्छ ।' भन्दै क्लब र खेलबाट आफ्नो सामाजिक योगदान दाबी गर्ने उनले आफुलाई उभ्याएको क्षेत्रलाई भने अहिले बिर्सिएका छन् । हालै एनएसएलको अक्सन चलिरहँदा उनको क्लब स्पोर्टिङ इलामले भाग लिएन ।
यो घटनाले उनको प्राथमिकता राजनीतितिर केन्द्रित रहेको र फुटबल तथा क्लब त्यसको सिँढीमात्र रहेको संकेत गर्छ । योसँगै सुहाङले देखाएको यो किसिमको तत्कालै परिवर्तनले नेपालमा फुटबल र राजनीतिबीचको दुरूपयोगपुर्ण सम्बन्धलाई उजागर गर्छ । राजनीतिका लागि कसरी खेलक्षेत्रको भावनात्मक दुरूपयोग भइरहेको छ भन्ने यसले जनाउ दिन्छ ।
एनएसएलमा स्पोर्टिङ इलामको सहभागिताले प्रतियोगितामा पुर्वी नेपालको बलियो उपस्थिति रहन सक्थ्यो । यसले थप रोमाञ्च र प्रतिस्पर्धा ल्याउने त थियो नै, पुर्वी नेपालमा फुटबलको व्यवसायीकता वृद्धिमा सहयोगी बन्ने थियो । तर, सुहाङको यो कदमले फुटबललाई गम्भीरतापूर्वक लिनुभन्दा छोटोसमयको फाइदाका लागि प्रयोग गर्ने प्रवृत्तिको संकेत गर्छ । जुन खेल विकासका लागि हानीकारक छ ।