केआईआईटीमा प्रकृति लम्साल मृत्यु: ओडिसाका मुख्यमन्त्रीलाई आरजुको फोन, यस्तो भएछ कुराकानी
काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन वार्ता गर्दै निष्पक्ष छानबिनको माग गरेकी छिन्।
परराष्ट्रमन्त्री देउवाले दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न तथा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि विशेष ध्यान दिन आग्रह गरेकी छन्। उनले नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरे पनि स्थायी रूपमा हटाउनका लागि ओडिसा सरकारलाई पहल गर्न अनुरोध गरिन्।
मुख्यमन्त्री माझीले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै दोषीमाथि कारबाही गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन्। उनले ओडिसा सरकारले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासनसमेत दिएका छन्।
यस विषयमा नेपाली राजदूतावास, नयाँ दिल्लीका कूटनीतिक कर्मचारीहरू समेत संलग्न रहँदै ओडिसा सरकार, विश्वविद्यालय प्रशासन तथा भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरिरहेका छन्।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन्
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज मैले ओडिसाका मुख्यमन्त्री श्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेँ । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु ।
नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरेँ । यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकोले उहाँहरुको समन्वयका लागि पनि मैले मुख्यमन्त्री श्री माझीसँग आग्रह गरेँ ।
उहाँले यस घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो । साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।