सम्भावनाहरूलाई अवसरमा बदल्न आवश्यक : अध्यक्ष ढकाल
बुटवल- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै ती सम्भावनाहरूलाई अवसरमा बदल्न आवश्यक रहेको बताएका छन्।
शनिबार बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा “केही छैन” भन्ने गलत धारणालाई तोड्न आवश्यक रहेको धारणा व्यक्त गरे। “नेपालमा प्राकृतिक स्रोतसाधनको ठूलो सम्भावना छ। हामीले ती स्रोतसाधनलाई उपयोग गर्दै उद्यमशीलता विकास गर्न सके रोजगारी पनि प्रशस्त सिर्जना गर्न सकिन्छ,” उनले भने।
ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्दै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए। “मुलुकको आर्थिक समृद्धिका लागि स्थिर नीति, लगानीमैत्री वातावरण र आन्तरिक लगानी प्रवर्द्धन अपरिहार्य छन्। यसो गर्न सकियो भने मात्रै उत्पादन वृद्धि र रोजगारी सिर्जना सम्भव छ,” उनले बताए।