प्रधानमन्त्री ओली ७४ वर्षमा प्रवेश
काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७३ वर्ष पुगेका छन् । बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो ।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ओली तत्कालीन नेकपा मालेको संस्थापकमध्येका एक हुन् । उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन् । त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन् ।
आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो । नेपालमा जनता हक अधिकारको स्थापना, समानता र लोकतन्त्रका लागि १४ वर्ष जेल जीवन बिताएका थिए । उनी पछिल्लो पटक २०७८ मंसिर १० गते चितवनमा भएको दशौं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका थिए ।
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा ओली प्रतिनिधिसभाको सदस्यमा ओली झापा–६ बाट निर्वाचित भएका थिए । त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा पनि झापा ५ र २ बाट प्रतिनिधिसभा सदस्य चुनिए । २०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ओली २०७० मंसिरमा झापा– ७ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । चार पटक प्रधानमन्त्री भइसकेका ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनी २०७४ सालको आम निर्वाचनपछि नेकपा माओवादी केन्द्र समेतको समर्थनमा ओली २०७४ फागुन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त भएका थिए ।