Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फाले फुटबलबाहेक सबैथोक गर्छ, एनएसएलमा आउन भ्याएनन् एन्फाका पदाधिकारी

आइतबार, फागुन ११, २०८१

एन्फाले गरेको ए डिभिजन लिग नेपाल सुपर लिग (एनएसएल) आयोजनाको तयारी चलिरहेको छ । नियमित आयोजना नभएकाले एनएसएलको विश्वसनीयतामा नै शंका उब्जिरहेको बेला दोस्रो बर्ष आयोजना गरेर नियमित हुन्छ भन्ने विश्वास बढाउन पनि यो आयोजना महत्वपुर्ण छ । 

यसैका लागि हिजो शनिबार एनएसएलको खेलाडीहरूको मिनी अक्सन थियो । तर त्यसमा नै एन्फाका पदाधिकारीहरू देखिएनन् । एनएसएलका लागि निकै महत्वपुर्ण गतिबिधिकारूपमा रहने मिनी अक्सनमा एन्फाका कुनै पनि पदाधिकारी नदेखिनुले प्रस्ट पार्छ, उनीहरूको प्राथमिकता । 

फुटबलसम्बन्धित कर्ममा एन्फाका पदाधिकारीहरूको सक्रियता कहिलै पनि चित्तबुझ्दो देखिएको छैन । खेलकुद पात्रो नपछ्याउने, असाध्यै दबाब आए पछि केवल झारा टार्ने उद्देष्यले कार्यक्रम गर्ने चलन एन्फाले पछ्याइरहेको छ । उनीहरू सकभर उपस्थित नै हुदैनन् र भए पनि जाँगरिलो उपस्थित रहदैन । 

क्रिकेटको एनपिएलले आशा देखाउँदा एनएसएल भने यस्तो

क्यानले एनपिएल गर्न जति सक्रियता देखायो र जसरी एनपिएललाई सम्भावनाको असिमित संसारकारूपमा देखायो, त्योबाट फुटबलमा सोही हाराहारीको एनएसएलमा पनि केहि उत्साह थपेको छ । गर्नु भने हुने रैछ भन्ने सकारात्मकता फैलिदा एनएसएलमा सहभागी क्लब र खेलाडिहरू पनि आशावादी भएका छन् । तर ति सबै उत्साहमा पानी खन्याउने काम गरेको छ एन्फाले ।

एन्फा आफैले एनएसएल आयोजना गर्दैन । यसका लागि नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई उसले आयोजककारूपमा छनौट गरेको छ । तर एनएसएल आयोजनाको लागि वार्षिक शुल्क भने एन्फाले लिने गरेको छ । एन्फालाई आर्थिक योगदान दिइरहेको र नेपाली फुटबलको व्यवसायीकतामा कोसेढुंगा बन्न सक्ने एनएसएलप्रति एन्फा भने उदासिन छ ।

हिजो भएको मिनि अक्सनमा विभिन्न खेलसम्ब्द्ध संघ संगठनका पदाधिकारीहरू उपस्थित भएका थिए । एनपिएललाई सफलता दिलाउन सक्रिय रहेका क्यानका सचिव पारस खड्का पनि उपस्थित थिए । तर स्वयम एन्फाका पदाधिकारी भने कोही पनि उपस्थित थिएनन् । 

ए, बि, सी डिभिजनका लिग पनि उस्तै

एन्फा फुटबलप्रति यति धेरै आलश्य छ कि उसले ए, बि, सी डिभिजनका लिगलाई पनि नियमित गर्न सकेको छैन । नियमित हुनु पर्ने ए डिभिजन लिग सकेको धेरै पछि बल्लतल्ल सी डिभिजन लिग आयोजना गर्न सक्यो । 

अहिले बल्ल बि डिभिजन लिग गर्न लागेको एन्फाले लिग कति लामो हुने भन्ने विवादलाई सल्टाउन सकेको छैन । क्लबहरूले नियमित खेल नहुँदा र हुँदा पनि एकदमै लामो समय रहदा क्लब सञ्चालनमा खर्च बढेको भन्दै लिगको समय छोट्याउन दबाब दिइरहेका छन् । 

यी सबै हेर्ने हो भने लाग्छ, एन्फाले फुटबल बाहेक सबै थोक गर्छ । उसको प्राथमिकताको सूचिमा फुटबल सबै भन्दा अन्तिममा पर्छ । पदाधिकारीलाई लाग्दो हो, भ्याए समय दिने हो, नत्र चलिराख्छ । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्