यूएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग
काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदहरूले अन्तर्राष्ट्रिय विकासका निम्ति अमेरिकी नियोग (यूएसएड) मार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।
अर्थ समितिको आइतबार (फागुन ११)को बैठकमा सांसद गंगा कार्कीले यूएसएडमार्फत नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गरे । उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए ।
‘यूएसएडमार्फत नेपालको वित्तीय संघीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै फ्रड हो भन्नुभएको छ । अनौपचारिक रूपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको भन्ने जानकारी पाएको छु । यस विषयमा आयोगसँग जवाफ मागिनु पर्छ’, सांसद कार्कीले भने ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा यूएसएडको सहयोगलाई ‘फ्रड’ भनेको भन्ने बुझ्नुपर्ने बताए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानका निम्ति आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको र त्यसलाई सबै दलले संसद्बाट पारित गरेको विषय पनि उठाए । अर्थ समितिमा छलफलका क्रममा रहेका विधेयकलाई चाँडो टुंगोमा पुर्याउनु पर्ने पनि उनले बताए ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभई संसद्मा छलफल गरिनुपर्ने बताए । ‘ट्रम्पले भनेका विषयमा यहाँ छलफल आवश्यक छैन । यो समितिभन्दा पनि संसद्को विषय हो’, उनले भने, ‘यूएसएडले गरेको खर्च कुन समयको हो र के कार्यक्रममा खर्च भएको थियो भनेर अर्थ मन्त्रलयसँग विवरण माग गर्न सकिन्छ ।
यसबारे लिखित पत्राचार गरौँ र मन्त्रालयसँग विवरण मागौं ।’ अर्थ समितिको बैठक तोकिएको समयभन्दा ढिला बस्ने गरेको, कार्यसूचीभन्दा बाहिरका विषयमा बढी छलफल हुने गरेको तथा समितिका कामको प्रभावकारिता न्यून देखिएको विषय पनि उनले उठाए ।