तन्नेरीले हाँकेको ‘पर्शुराम’
काठमाडौ - भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट वायुमण्डलीय भौतिकशास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर पढेर फर्केका । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट डडेल्धुरास्थित पर्शुराम नगरपालिकाको उम्मेदवार बनेपछि देशभर चर्चा भयो । पुरानो पार्टी, लक्का जवान उम्मेदवार । बहालवाला नगरप्रमुख नै उम्मेदवार बन्ने चर्चाका बीच पार्टीले विश्वास गरेर टिकट दिएका पात्र । त्यो पनि पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा ।
पार्टीले विश्वास गर्यो तर जनताले के गर्लान् ? धेरैको मनमा प्रश्न थियो । जोशी भने चुनाव जित्नेमा ढुक्क । पुरानो पार्टीमा टिकट पाउनु नै जितको सुरुवात ठानेका उनमा जनमत पाउने अझ बढी आत्मविश्वास थियो । त्यसको आधार थियो, कोरोना महामारीका समयमा जनताको घरघरमा पुगेर औषधोपचारलगायत तत्कालीन समस्या नजिकबाट नियाल्नु र समाधानमा भूमिका खेल्नु । सङ्कटका बेला साथ दिएका जोशी धेरैजसो स्थानीयका लागि परिचित नै थिए । अपरिचितमा पनि चुनावी अभियानकै क्रममा आफ्नो मुद्दा बुझाएर आशाको दियो जगाए । फलतः निर्वाचनमा विजयी भए ।
देशभर युवापुस्ताको प्रतिनिधित्वको प्रश्न । त्यहीबेला पुरानो लोकतान्त्रिक पार्टीबाट सम्भवतः देशभरकै तन्नेरी (कान्छो) उम्मेदवारको जित । चर्चा थप चुलियो । पार्टीको साधारण कार्यकर्ता, राजनीतिमा नयाँ नयाँ । धेरैलाई चासो थियो, अब नगरमा के हुन्छ भनेर । ‘युवा एजले होइन, एजेन्डा’ले हुने हो भनेर बहस हुने पार्टीमा त झन् चासो हुने नै भयो । यही चर्चा र चासोका बीच उहाँको आधा कार्यकाल बित्यो । उल्लेखित संशय र प्रश्नको जवाफ कसरी दिइरहेका छन् त जोशीले ? भन्ने प्रश्नमा उनी भन्छन्, 'एकाध वर्षमा धेरै परिणाम खोज्न थालियो भने हामी सबै त्यसैमा अल्मलिन्छौँ । त्यसैले विकास भनेको ठूला भवन र पूर्वाधार, चिल्लो सडक र यस्तै कुरालाई सम्झिने परिपाटी छ तर हामीले यहाँको सर्वाङ्गीण विकासको कुरा गरिरहेका छौँ । त्यो भनेको शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक जागरण, उद्यमशीलता, नवप्रवर्तन र सामूहिक भावनालाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने हाम्रो सोच छ, सोहीअनुसार काम गरिरहेका छौँ ।'
यही सोचका कारण सकेसम्म आफूले फरक अभ्यास गर्न खोजेको नगरप्रमुख जोशीको दाबी छ । स्थानीय जनजीवनलाई केन्द्रमा राखेर स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार, खेलकुद र सामाजिक जागरणका काम सँगसँगै अगाडि बढाइएको उनको भनाइ छ । कोरोना महामारीमा जनताको स्वास्थ्य सेवामार्फत समाज सेवामा जुटेका जोशीले नगरप्रमुख भएपछि नागरिकमा गुणस्तरीय स्वास्थ्य पहुँच विस्तारमा जोड दिएको बताए । 'त्यसका लागि नगर अस्पताल सुधारमा लागियो । हाल एक एमडी र तीन जना एमबिबिएस चिकित्सकमार्फत सेवा प्रवाह, बहिरङ्ग सेवा विस्तार, दन्तसेवा प्रवाह, वडामा डाक्टर, नगर क्षेत्रका विद्यार्थीको स्वास्थ्य विवरण तयार गरी विद्यालयमै स्वास्थ्य जाँच, गर्भवतीलाई अन्यत्र रेफर गरे निःशुल्क एम्बुलेन्स सेवा दिने काम भइरहेका छन्', उनले सुनाए ।
जोशीले घरघरमा सिंहदरबारको नीतिअनुसार सम्भव भएसम्म सबैजसो सेवा वडाबाटै प्रवाहका लागि पहल गरेका छन् । हाल सामाजिक सुरक्षा भत्ता, योजना सम्झौता, बैंक खाता सञ्चालन र रकम भुक्तानीको काम वडाबाटै सुरु भएका छन् । शिक्षा सुधारका लागि सामुदायिक विद्यालय सुधार, उच्च शिक्षाका लागि विद्यार्थी सहुलियत कर्जा, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम, एक करोड ६० लाख बढीको आधुनिक पुस्तकालय, गाउँमै लोकसेवा कक्षा, युवालाई ‘करियर काउन्सिलिङ’ जस्ता कार्यक्रम अगाडि बढाइएका छन् ।
यसका अतिरिक्त उज्यालो नगर, पर्शुराम साहित्य महोत्सव, खेलकुदको प्रवर्द्धनका लागि भलिबल, क्रिकेटमा आफ्नै टोली, बन्द प्रशिक्षणजस्ता कार्यक्रम कार्यान्वयन भइरहेका छन् । पर्शुराम गौरव योजनाअन्तर्गत क्रिकेट रङ्गशाला, कबर्डहल, धार्मिक पर्यटन विकासका लागि पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण योजना, महाकालीमा जलपर्यटन विकासका लागि स्थानीय युवालाई ‘र्याफ्टिङ गाइड तालिम’ दिएर स्वरोजगार बनाउने प्रयासको थालनी भएको छ ।
आफ्नो पालिकामा नागरिकलाई दिने सुविधाबारे चिन्ता त छँदैछ, समग्र सुदूरपश्चिमका विकास प्राथमिकता र सम्भावनाबारे सामूहिक चिन्तनको विकासमा पनि पर्शुराम अगाडि छ । गत पुस १५ र १६ मा सम्पन्न पहिलो सुदूरपश्चिम मेयर फोरमसमेत त्यसैको उपज हो । 'हाम्रो प्रदेशमा ८८ वटा पालिका छन् । हामीभन्दा धेरै अनुभवी, स्रोतसाधन सम्पन्न पालिका त अरु पनि छन् तर यो सामूहिक भावनाको विकासको सुरुआत पर्शुरामले नै गरेको छ', नगरप्रमुख जोशीले भने, 'पछिल्लो समय खेलकुदमा युवाको लगाव बढ्दै छ । पर्शुरामको पहिचानका लागि भलिबल र क्रिकेटमा आफ्नै टोली बनाएका छौँ । हालसम्म हाम्रो टोली सहभागी भएका खेलमा राम्रो नतिजा आइरहेको छ ।'
फरक पार्टीबाट भए पनि युवा नै छन् उपप्रमुख विमलाकुमारी बोहरा । हाल प्रमुख प्रशासकीय अधिकृत रहेकी कल्पना भट्ट पनि उस्तै । उमेरले मात्रै होइन, कामले पनि तन्नेरी भएको देखाउनु छ नगरप्रमुख जोशीको टोलीलाई ।