भरतपुरमा सात जातका गहुँको परीक्षण गरिँदै
चितवन– भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् ।
पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् ।
गहुँको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा सिकेका सीप प्रभावकारी भए/नभएको मूल्याङ्कन गर्न सामूहिक रूपमा सात जातका गहुँबालीको परीक्षण गरिएको एकीकृत सत्रुजीव व्यवस्थापन (आइपिएम) का सहजकर्ता वासुदेव सापकोटाले बताए । उनका अनुसार जातीय, दूरी, उपचार विधि र मलखादसम्बन्धी परीक्षण भइरहेको छ ।
एक हजार वर्गमिटर (तीन कट्ठा) क्षेत्रफलमा लगाइएको बाली परीक्षण गरिएको सहजकर्ता सापकोटाले जानकारी दिए । उनले भने, ‘विभिन्न जातका गहुँलाई ‘प्लट’ बनाएर परीक्षण गरेका छौँ । स्वच्छ बीउ कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कृषकलाई प्राविधिक ज्ञान दिइएको छ ।’
उनका अनुसार गौतम, विजय, खैन, एनएल–९७१, सिएल–१४१२, एनएल–१६२७ र विएल–४३४१ जातका गहुँको परीक्षण गरिएको हो ।