धान उत्पादन बढेपनि घटेन आयात, ७ महिनामा २५.२९ अर्बको भित्रियो, बासमती चामल ४ करोड किलो
काठमाडौं- सरकारले यो वर्ष अहिलेसम्मकै धेरै धान उत्पादन भएको भनिरहँदा भारतबाट आयात अकाशिएको छ।
चालु आर्थिक वर्ष ७ महिनामा २५ अर्ब २९ करोड रुपैयाँको धान र चामल आयात भएको छ। मूल्यका आधारमा यो आयात पोहोर ७ महिनाको भन्दा करिब दोब्बर हो। गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ५ करोड रुपैयाँ धान र चामल आयात भएको थियो।
भारतले धान चामलको निर्यातमा लगाएको शुल्क हटाएपछि व्यापारीले आयात बढाएका हुन्।
भन्सार विभागका अनुसार १४ अर्ब ५१ करोड रुपैयाँको ३८ करोड १६ लाख केजी धान र १० अर्ब ७७ करोड रुपैयाँको चामल आयात भएको छ।
बासमती चामल नै ४ करोड केजी भित्रिएको छ। ४ अर्ब ५७ करोड रुपैयाँको बासमती चामल आएको विभागले जनाएको छ। बासमती चामल पोहोर ७ महिनाको तुलनामा ८९ करोड रुपैयाँ बढीको भित्रिएको हो।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ १९:४१
प्रतिक्रिया दिनुहोस्