बन्दुक या तोपसँग होइन एउटा चरासँग डराउँछन् अस्ट्रेलियाका नागरिकहरू, कारण यस्तो छ
काठमाडौं– अस्ट्रेलियाका नागरिकहरूलाई कठोर र निडर भनेर चिनिन्छ।
त्यहाँका नागरिकहरू बन्दुक तोप अथवा निक्कै भयानक जनवारसँग डराउँदैनन्।
तर, जब एक विशेष चरा देखापर्छ, तब अवस्था फरक हुन्छ।
यो कुनै साधारण चरा होइन जसले अस्ट्रेलियनहरूलाई त्रसित बनाउँछ।
क्यासोवरी विश्वका सबैभन्दा ठूला चराहरू मध्ये एक हो, जसले प्राचीन कालको जीव जस्तै देखिन्छ।
यो मानिसको उचाइको हुन्छ, कालो चम्किलो प्वाँख र पैनी आँखाहरू हुन्छन्, दुई खुट्टामा हिँड्छ, यसको तौल १४० पाउन्डसम्म हुन सक्छ, र प्रत्येक खुट्टामा ठूलो छुरी जत्रो पन्जा हुन्छ।
‘यी चरामा केही मौलिक वा प्राचीन प्रकारको देखिन्छ,’ पपुवा न्युगिनीको जंगली क्षेत्रमा पाँच वर्षसम्म क्यासोवरीहरूको अध्ययन गरेका एन्ड्र्यु म्याक भन्छन्,‘यी जीवित डाइनासोरहरू जस्तै देखिन्छन्।’
क्यासोवरीहरू ¥याटाइट हुन्, जसको मतलब तिनीहरू उड्न सक्दैनन्। यिनीहरूलाई ‘विश्वकै सबैभन्दा खतरनाक चरा’को उपाधि पनि दिइएको छ।
उड्न नसक्ने, तर अझै प्रसिद्ध नातेदारहरू मध्येको इमु अस्ट्रेलियाको राष्ट्रिय प्रतीक मध्ये एक हो। तर क्यासोवरीहरू भने मुख्य रूपमा घना वर्षा वनमा लुकेर बस्छन्, जहाँ तिनीहरूको मानिसहरूसँग कमै सामना हुन्छ र अहिले तिनीहरू लोप हुने खतरामा परेका छन्।
क्यासोवरीहरू नाटकीय देखिने मात्र होइनन्, वातावरणीय रूपमा पनि महत्त्वपूर्ण छन्। यी चराहरू संसारकै सबैभन्दा ठूला फलाहारी (फल खाने) प्राणीहरू हुन्।
तिनीहरू दिनहुँ विभिन्न फलहरू खान्छन् र त्यसलाई मलका रूपमा बगैंचामा फाल्छन्, जसले बीउ फैलाउन र वन फेरी बढ्न मद्दत गर्छ।
अझ रोचक कुरा के छ भने, क्यासोवरीहरू ती दुर्लभ जनावरहरूमध्ये एक हुन् जसमा बच्चाको हेरचाह मुख्य रूपमा पोथीले होइन, भालेले गर्छ।
पोथी क्यासोवरीले अण्डा पारिसकेपछि घुँडाहरू छोडेर जान्छ, र भाले क्यासोवरीले तिनीहरूको ऊष्मा दिने (इन्क्युबेट गर्ने) काम गर्छ अनि बच्चाहरू हुर्काउँछ।
भालेहरू आफ्ना बच्चाहरूको असाधारण रूपमा सुरक्षा गर्छन्, जसका कारण मानिस र क्यासोवरीहरू बीचका झगडाहरू पनि कहिलेकाहीँ देखिन्छन्।
गत वर्ष, एउटा भाइरल भिडिओमा क्युइन्सल्याण्डकी एक महिलाले आफ्नो म्याकडोनाल्ड्स बर्गर क्यासोवरीको खुट्टाबाट जोगाउन संघर्ष गरिरहेको देखियो।
यी प्राणीहरू ठूला र डर लाग्दो देखिए पनि, पीटर रोव्लेस भन्छन्, ‘क्यासोवरीहरूको मृत्यु मानिसहरूको कारणले बढी हुन्छ, बरु मानिसहरूको मृत्यु क्यासोवरीको कारणले कम हुन्छ।’
रोव्लेस ‘कम्युनिटी फर कोस्टल एण्ड क्यासोवरी कन्जरभेसन’का संस्थापक हुन्। उनी अस्ट्रेलियाको उत्तर क्युइन्सल्याण्डको मिशन बीच भन्ने सागर किनारमा बस्छन्, जुन मुख्य रूपमा क्यासोवरीहरूको बासस्थान हो।
‘यदि तपाईं जंगली क्षेत्रमा क्यासोवरी भेट्नुहुन्छ भने, पहिलो कुरा के गर्नुहोस् भने, आफ्ना हात पछाडि राख्नुहोस्’, उनी सुझाउँछन्।
‘आफूलाई सकेसम्म नीरस (बोरिङ) बनाउनुहोस्, ताकि क्यासोवरीले तपाईंप्रति ध्यान नदियोस्। कुनै रूखको पछाडि जाऔं, वातावरणमा मिसिऔं। चिच्याउनु, हात हल्लाउनु, दौडनु हुँदैन। यदि तपाईंको हातमा खाना छ भने, खल्तीमा हाल्नुहोस्, पछाडि लुकाउनुहोस्, कतै लुकाउनुहोस्। यो सबैभन्दा राम्रो उपाय हो, ताकि क्यासोवरीले तपाईंलाई थप खाना दिने स्रोतका रूपमा नदेखोस्।’
यदि कोही क्यासोवरीसँग सामना हुन्छ भने, दौडेर भाग्न खोज्नु उल्टै खतरनाक हुन सक्छ।
क्यासोवरीका नातेदार इमु र अस्ट्रिचहरू झैँ, यी चराहरू पनि दुई खुट्टामा हिँड्छन् र तीव्र गतिमा दौडन सक्छन्।
२००१ मा प्रकाशित ‘जर्नल अफ जुलोजी’को एक अध्ययनका अनुसार, ७५% क्यासोवरी आक्रमणहरू तब भएका थिए जब मानिसहरूले तिनीहरूलाई खाना खुवाएका थिए।
‘क्यासोवरीलाई खुवाउँदा तिनीहरूको प्राकृतिक व्यवहार परिवर्तन हुन्छ, जसले गर्दा तिनीहरू निडर र आक्रामक बन्छन’्, अध्ययन लेखक क्रिस्टोफर पी कोफ्रोनले लेखेका छन्।
पपुवा न्युगिनीमा, क्यासोवरी संरक्षित जनावर होइन, र स्थानीयहरूले समात्न सकेमा तिनीहरूलाई भुटेर खान्छन्। त्यहाँ पाइने क्यासोवरीहरू साना “ड्वार्फ“ प्रजातिका हुन्छन्।
रोव्लेसले पर्यटकहरूलाई कालो वा गाढा नीलो रंगका कारहरूबाट टाढा रहन सल्लाह दिन्छन् किनकि क्यासोवरीहरूले ती कारहरूमा आफ्नै प्रतिविम्ब देखेर प्रतिस्पर्धी चरा सम्झेर डराउँछन् वा आक्रामक बन्छन्।
मिशन बीचका स्थानीयहरू आफ्ना घरका सिसा वा ऐनाहरूमा पर्दा हाल्छन्, ताकि क्यासोवरीहरूले आफ्नो प्रतिबिम्ब नदेखून्। (सीएनएन)