सशस्त्र इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः प्रेमी अर्का इन्स्पेक्टरविरुद्ध कास्की प्रहरीमा परिवारद्वारा जाहेरी
काठमाडौं– ब्यारेकम झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतका परिवारले अर्का इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको छ।
जाहेरी दर्ता भएको कास्की प्रहरीले जनाएको छ। पक्राउ पुर्जी लिएर अनुसन्धान गर्न तयारी प्रहरीको छ।
महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दिएका छन्। ती इन्स्पेक्टर र महत प्रेमीप्रेमीका रहेको परिवारको दाबी छ।
सशस्त्र प्रहरी बल नेपालले ब्यारेकमै झुन्डिएको अवस्थामा मृत फेला परेकी इन्स्पेक्टर महत प्रकरण छानबिनका लागि नायव महानिरिक्ष (डीआईजी) लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।
डीआईजी सिंहको नेतृत्वका ५ सदस्यीय छानबिन समिति गठन गरिएको मुख्यालयले जनाएको छ।
इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन्। इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
सिपाहीमा भर्ना भएकी उनी असई हुँदै यसै बर्ष इन्स्पेक्टरमा नाम निकाल्न सफल भएकी थिइन्।
पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो। यसैकारण महतले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। छानबिन समितिले यस कोणबाट पनि अनुसन्धान गर्ने बताइएको छ।