Nic Ad Nic Ad
Nic Ad Nic Ad

ठमेलमा प्रहरी कुट्ने सत्ताधारी विद्यार्थी नेताविरुद्ध मुद्दा दर्ता, खास ‘कैफियत’ के हो?

सोमबार, फागुन १२, २०८१

काठमाडौं– ठमेलमा प्रहरी कुट्ने नेकपा एमालेनिकट अनेरास्ववियुका नेता कमलराज जोशीसहित ६ जनाविरुद्ध प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको छ। 

२४ दिनसम्म राख्न सकिने भए पनि दुई सातामा नै प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको हो। सत्ताको आडमा मुद्दा चाँडो बुझाईको विषय नै यस प्रकरणको ‘कैफियत’ रहेको बताइन्छ। 

जोशीका साथै गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाइएको हो। उनीहरु मध्ये सौजन्य भने फरार छन्। उनलाई सरकारी वकिल कार्यालयले  प्रतिवादी बनाउँदै अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको हो।

पहिलो पटक अभद्रको कसुर गरेकाको हकमा जिल्ला प्रशासन कार्यालय र दोस्रो पटकदेखि कसुर गरेकाको हकमा भने अदालतले मुद्दा हेर्ने व्यवस्था भएकोले सोही अनुसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अखिल नेता जोशी, दिनेश सिग्देल, गोपालबहादुर शाही भने पटके कसुरदार हुन्। उनीहरुविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरदेखि अभद्र व्यवहारको कसुरमा समेत मुद्दा चलेको थियो।

यो मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासमा परेको छ।

जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए। दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो।

सत्ताको आडमा जोशीलाई जोगाउने कोशिश गरिएको भनी आलोचना भएको थियो। बाहिरबाट दबाब परेपछि प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको थियो।
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्