प्रचण्डको कार्यक्रमका दिन ‘स्कुल’ बन्द गर्न पत्र, गणतन्त्रमा पनि शिक्षामाथि माओवादीको अवरोध
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता सहभागी हुने कार्यक्रम गर्नका लागि मोरङको कानेपोखरीस्थित एक विद्यालयलाई बन्द गराउन संगठनले अनुरोधसहितको उर्दी जारी गरेको छ।
कार्यक्रमस्थल परिवर्तन गर्नुको साटो विद्यालयलाई एक दिन विदा गर्नका लागि माओवादीको मोरङ कानेपोखरी कमिटीले पत्र लेखेको सार्वजनिक भएको हो।
संगठनका कानेपोखरी कमिटी अध्यक्ष दुर्गाबहादुर कार्कीले पठाएको पत्रमा भनिएको छ,‘फागुन १३ गते गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितका नेताको कार्यक्रम ९ बजेदेखि १ बजेसम्म हुने र सो क्रममा सवारी आवागमनलगायतका कारणले ध्वनी प्रदूषण हुने भएकाले विद्यालय विदा गर्नका लागि अनुरोध गर्दछौं।’
शिक्षा सुधारको अभियानमा सक्रिय रहेको अभिषेक घिमिरेले यस्तो सूचनामा आपत्ति जनाएका छन्।
उनी भन्छन्,‘जुनसुकै दलको कार्यक्रम भए पनि यो गलत भयो! विद्यालय कति संवेदनशील हो भन्ने कुरा नबुझ्नेले राजनीति नगरे हुन्छ, यस्ता नेताले देश बनाउन सक्दैनन्!’
घिमिरेले अगाडि भनेका छन्,‘यस्ता कार्यक्रम आयोजना गर्नेले विद्यालय र बालबालिकालाई कसरी “असर नपार्ने’’ भनेर सोच्ने कि उल्टै हाम्रा कारणले म्ष्कतगचद हुन्छ, त्यसैले विद्यालय बन्द गर भनेर उर्दी जारी गरेर पत्र पठाउने?’
यो भत्र्सनायोग्य रहेको बताउँदै घिमिरेले भने,‘आयोजकले विद्यालय र बालबालिकाको पठन पाठनलाई असर नपुग्ने गरी कार्यक्रमको स्थान परिवर्तन गर्नुहुन अनुरोध छ!’
यसअघि युद्धकालमा पनि विभिन्न बाहनामा माओवादीले विद्यालयमा हस्तक्षेप गर्दै आएका थिए।