Nic Ad Nic Ad
Nic Ad Nic Ad

संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ : प्रचण्ड

सोमबार, फागुन १२, २०८१

झापा- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनमा जोड दिँदै उत्पीडित वर्ग र समुदायको पहिचानको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन्।

झापाको कचनकबल–३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरूको भेटघाट कार्यक्रममा बोल्दै उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा पहिचानका समस्याहरू समाधान गर्न सकिने धारणा राखे ।

उनले भने, ‘कोच, शेर्पा लगायत धेरै समुदायको पहिचान सम्बोधन गर्न संविधानको पूर्ण कार्यान्वयन अत्यन्त महत्वपूर्ण छ । यदि त्यसो गर्दा पनि समस्याको समाधान नहुँदा, संविधान संशोधनमार्फत् अघि बढ्न आवश्यक छ ।’ अध्यक्ष प्रचण्डले संविधान निर्माणका समयमा उत्पीडित वर्ग र समुदायका मुद्दा पर्याप्त रूपमा उठाउन नसकिएको स्मरण गर्दै अब माओवादी पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकतामा राख्ने नीति लिएको बताए । उनले पार्टीको अभियानलाई उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध जोड्नको लागि समेत सुरु गरिएको स्पष्ट पारे ।

जसरी पनि संविधान बनाउनु पर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्वपूर्ण एजेण्डालाई तस्ताको तस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेण्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताएका थिए । बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि उनले स्पष्ट गरे ।

अहिले उत्पीडित समुदायले पाएको अधिकारलाई माओवादीले पाए जस्तो देख्ने र यसलाई जति सकिन्छ धेरै खोस्ने प्रयासमा एकथरी शक्ति लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भने उत्पीडित समुदायलाई बलियो बनाएर मात्रै जनताको अधिकार बचाउन सकिन्छ भन्नेमा स्पष्ट रहेको बताए । त्यसका लागि उत्पीडित वर्ग र समुदाय पनि थप एकताबद्व र बलियो बन्नुपर्ने बताए ।

कार्यक्रममा आदिवासी समुदायका अगुवाले पहिचानको मुद्दालाई थप बलियो बनाउन, चुनावी घोषणापत्रमा प्रतिबद्ध हुनु र आदिवासी समुदायको नेतृत्व गर्न अध्यक्ष प्रचण्डसहितका माओवादी नेताहरुलाई सुझाव दिएका थिए । झापाको यो क्षेत्रमा राजबंशी, गनगाइ, माझी, मुसलमान लगायतका आदिवासीको बसोबास रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्