Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनगढीका मेयरविरुद्ध लेख्दा पत्रकारलाई धम्की: सुरक्षाको माग गर्दै हारगुहार

सोमबार, फागुन १२, २०८१

काठमाडौ - धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको भूमिकामाथि प्रश्न उठाउँदै लेखेका पत्रकारमाथि उनका समर्थकले धम्की दिएका छन्। धनगढीका पत्रकार दीर्घराज उपाध्यायले फागुन ५ र ६ गते ‘धनगढीको उज्यालो: भ्रम र वास्तविकता’ शीर्षकमा पश्चिम टुडे दैनिकमा दुई सिरिजमा समाचार लेखेका थिए। त्यसपछि आफूमाथि मेयर हमालका समर्थकले लगातार धाक धम्की दिइरहेको पत्रकार उपाध्यायले बताए। हमालका समर्थकले सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा धम्क्याएको उनले जनाए। 

लगातार धम्की आउन थालेपछि पत्रकार उपाध्यायले कैलालीका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा जिउ ज्यानको सुरक्षा माग गर्दै उजुरी र निवेदन दिएका छन्। 

यस्तै उपाध्यायले नेपाल पत्रकार महासङ्घदेखि राष्ट्रिय मानवअधिकार आयोगमा पनि आवश्यक सुरक्षाका लागि पहल गरिदिन गुहार लगाएका छन्। 

उपाध्यायले आइतकार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसमक्ष जिउ ज्यानको सुरक्षाको माग गर्दै उजुरीसहित निवेदन दिएका थिए। उजुरी गर्न जाँदा उपाध्यायसँगै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य योगेन्द्र बलायर, पूर्व केन्द्रीय सदस्य मीन बम, महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह र महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा समेत सँगै गएका थिए।  

यस्तै समाचार लेखेकै कारण पत्रकार उपाध्यायमाथि धम्की आएपछि पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश र कैलाली शाखाले विज्ञप्ति निकाल्दै खेद प्रकट गर्दै दोषीमाथि कारबाहीको माग समेत गरेका छन्। 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्