महाशिवरात्रीका दिन यस्तो छ पशुपति क्षेत्रमा पार्किङको व्यवस्था, ८९० ट्राफिक प्रहरी खटिने
काठमाडौं– महाशिवरात्रीको दिन पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ८९० जना खटाइने भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडलाई सुरक्षित र व्यवस्थित बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारिएको हो।
दमकल, खानेपानीका ट्याङ्कर, एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनका निम्ति पनि पार्किङको उचित व्यवस्था गरिएको छ।
भक्तजनका सवारी साधनहरूको पार्किङ तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुह्येश्वरी पारी करिडोर सडकमा हुनेछन्। यसैक्रममाबनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू पार्किङ हुने व्यवस्था गरिएको छ।
कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरूको पार्किङ व्यवस्था गरिएको छ।
विभिन्न नाकाबाट भित्रिने भक्तजनका सवारी साधनहरूलाई छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। दूरदराजबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ स्थानहरू पनि तोकिएको छ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र हुँदै चक्रपथमा सवारी साधन सञ्चालन गर्न नसकिने अवस्था आएमा मात्र गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरेर सहज आवागमनको व्यवस्थापन गरिनेछ।
गौशाला क्षेत्रमा भिडको चाप बढेको खण्डमा चक्रपथ भएर कुद्ने सवारी साधनका निम्ति बैकल्पिक बाटो तयार गरिनेछ। त्यसका निम्ति पनि जनशक्ति परिचालन हुने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
तिनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरूलाई निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भीड अत्यधिक भई सवारी चलाउन नसकिने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फका रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने छ।
सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका ट्राफिक प्रहरी पनि परिचालन गरिनेछ। तर, आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल र सहज रूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर प्रत्यक्ष परिचालन हुनेछ।