Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह

सोमबार, फागुन १२, २०८१

सर्लाही- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

सर्लाहीको लालबन्दीमा शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापारिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । ‘यहाँ जुन भवन बनेको छ यसको लक्ष्य युवाहरूले यहीँ बसेर आफूले उत्पादन गरेको सामाग्री, खाद्यपदार्थ देखि सबै स्थानीय उत्पादनहरूलाई मार्केटिङ गर्नका लागि एउटा स्थानको रूपमा यो भवन रहनेछ,’ भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भने, ‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर आजकालको आधुनिक व्यापारिक मोडल छ त्यसलाई युवाहरूले उपयोग गरे संसारभर प्रचारप्रसार गर्न सक्छन् ।’

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटन लगत्तै नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उपप्रधानमन्त्री सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने काम शहरी विकास मन्त्रालयले गर्ने भन्दै व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । ‘अर्थतन्त्र चलायमान बनाउन यहाँ भएको गतिविधिले सकारात्मक सन्देश जानेगरि यहाँहरूले काम गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ,’ उपप्रधानमन्त्री सिंहले भने ।

शहरी विकास मन्त्रालय मातहतको संंघीय शहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको भवन ३ तल्लाको छ । जसमा भूइँतल्लामा १७ वटा व्यापारिक सटर,पहिलो तल्लामा ३ वटा च्याम्बर कोठा, तेस्रो तल्लामा १ वटा च्याम्बर कोठा र हल, सबै तल्लामा महिला पुरुष शौचालय छ । भवन ५ करोड ४१ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्