Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलायो

सोमबार, फागुन १२, २०८१

काठमाडौँ- ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको केबलकारको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’लाई सरकारले वार्तामा बोलाएको छ।  

सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले आज  सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल गरेका छन्। 

“पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, साँस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ”, भट्टराइले विज्ञप्तिमा भनेका छन्।

यसअघि आन्दोलनरत पक्षसँग विभिन्न चरणमा भएका वार्तामा अन्तिम सहमति भएको छैन। माघ २२ गते बसेको २ पक्षीय वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्ने र माघ २७ गते दोस्रो चरणको विस्तृत वार्ता बस्ने गरी ६ बुँदे सहमति भएको थियो। 

२७ गते बसेको बैठक बिना निष्कर्ष सकिएपछि वार्ता भाँडिएको थियो। 

पाथीभरमा केबुलकार बनाउने विषयमा माघ १२ गते प्रहरी र नो केबुलकार पक्षबीच झडप भएकपछि सिर्जना भएको विवाद जारी छ। 

पटकपटक झडप हुँदै आएको छ। सरकारी वार्ता टोलीले यो दोस्रो पटक वार्ता आह्वान गरेको हो। यसअघि माघ ९ गते पनि वार्ता आह्वान गरिएको थियो।

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्