Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसकारण 'लाज शरणम्' ले दर्शकहरूलाई हलसम्म तान्न सक्छ

सोमबार, फागुन १२, २०८१

नेपालमा अहिले बर्षमा करिब ७०–८० वटा चलचित्र बन्ने गर्दछन् । तर त्यसमा सफल हुने चलचित्रको संख्या निकै कम छ । एकदमै कम चलचित्रमात्रै प्रदर्शनमा आउनु अगाडि नै चर्चित बन्न पुग्छन् । पर्सी बुधबार शिवरात्रिमा तीन चलचित्र आइरहेका बेला 'लाज शरणम्' सबै भन्दा चर्चित विकल्प बनेको छ ।

सेन्सर पास भएसँगै टेलिशृङ्खला 'सक्किगोनि टीम' द्वारा निर्माण गरिएको चलचित्र 'लाज शरणम्' बुधवार नै प्रदर्शनमा आउने भएको छ । भद्रगोल टेलिसिरियलबाट प्रसिद्ध भएर हाल सक्किगोनि टेलिसिरियलमा रहेका कलाकारहरूको टिमले नै चलचित्र 'लाज शरणम्' निर्माण गरेको छ । 

चलचित्र 'लाज शरणम्' मा पुर्णबहादुरको सारंगीबाट धेरै रूचाइएका बिजय बराल, सीताराम कट्टेल 'धुर्मुस', अर्जुन घिमिरे 'पाँडे' लगायतका चर्चित कलाकारहरू छन् भने निर्देशन कुमार कट्टेल 'जिग्री'को रहेको छ । त्यसमा काठमाण्डौका मेयर बालेन शाहको प्रमोसनल गीत आए पछि 'लाज शरणम्' को क्रेज र हाइप निकै माथि पुगेको छ ।

फिल्म प्रदर्शन हुने समय नजिकै आइरहेको समयमा अहिलेसम्म जति हाइप बनेको छ, फिल्मले त्यो प्रमाणित गर्छ कि गर्दैन भन्ने चासो निकै बढेको छ । यसैले 'लाज शरणम्' के अपेक्षा राखेर हेर्ने भन्ने अनुमान पनि बढ्दो छ । 

हामीले यो लेखमा 'लाज शरणम्' ले दर्शकको अपेक्षा बढाउनुको कारणहरू खोतलेका छौँ । 

१. चर्चित कलाकार टोली

एक दशकभन्दा लामो समय एउटै टिममा बसेर नेपाली कलाक्षेत्रमा योगदान गरिरहेका र दर्शकले पनि असाध्यै रूचाएको समूहले निर्माण गरेको चलचित्र हो, 'लाज शरणम्' । सक्किगोनिका हरेक पात्रहरू नेपालका हरेक गाउँमा चिनिएका र रूचाइएका कलाकारहरू हुन् । त्यसमा धुर्मुस र भर्खरै ऐतिहासिक सफल चलचित्र पुर्णबहादुरको सारंगी दिएका बिजय बराल पनि भए पछि यसमा चर्चित कलाकारहरूको ठुलो समूह छ ।

चलचित्रमा रहेका कलाकारहरूलाई टेलिसिरियलमा तथा फिल्ममा पनि असाध्यै रूचाइएका कारण यो फिल्म पक्कै पनि हेर्न लायक छ भन्ने धेरैको धारणा छ । 

२. टिजरले तान्यो दर्शकको मन

ट्रेलर सार्वजनिक गर्ने तयारी गर्दागर्दै चलचित्रका विरूद्धमा अदालतमा मुद्दा पर्यो । सेन्सर पास भए पछि सो मुद्दा पाखा त लाग्यो तर चलचित्रले ट्रेलर सार्वजनिक गर्ने भने समय नै पाएन । यो भन्दा अगाडि टिजर मात्र सार्वजनिक भएको थियो ।

'लाज शरणम्' को टिजरले दर्शकहरूलाई निकै आकर्षित गरेको पाइएको छ । टिजरमा कथा कस्तो छ भन्ने अनुमान गर्न गाह्रो छ तर कलाकारहरूको अभियन, फिल्ममा देखाइएको दृष्यले फिल्म हेर्नका लागि दर्शकहरूलाई हलसम्म डोहोर्याउन भने निकै ठुलो आकर्षण पैदा गरेको पक्का छ । 

३. गीत संगीतमा नयाँपन

'लाज शरणम्' को प्रमोसन गीतकारूपमा बालेन शाहको र्याप सार्वजनिक भयो । सो गीत युट्युबमा अपलोड भएको केहि घण्टामा नै ट्रेन्डिङमा पर्यो भने हालसम्म पनि संगीत तर्फको ट्रेन्डिङको पहिलो नम्बर ओगटेर बसेको छ । 

त्यसबाहेक टिकटक, फेसबुक, इन्स्टातिर त्यो गीतप्रतिको आकर्षण हेर्ने हो भने फिल्मको विज्ञापनमा सबै भन्दा ठुलो योगदान त्यसको रहेको छ भन्नेमा सायदै दुईमत हुन्छ । बालेन शाहको गीत फिल्ममा कसरी समेटिएको छ भन्ने कौतुहलताले पनि नेपाली फिल्म कम हेर्ने समूहमा समेत फिल्म हेर्न जाने तयारी बढाएको छ । 

४. फिल्मको बिधा

'लाज शरणम्' को ट्रिजर हेर्दा नेपाली फिल्महरू जुन ढंगका रहुन् भनेर तर्क गर्ने गरिन्छ, त्यस्तै देखिन्छ । यो बिधालाई नेपाली दर्शकहरूले नेपाली फिल्मकै मुलधारका मानेको देखिन्छ । यसले गर्दा दर्शकहरूलाई आफुले चाहेकै कुरा फिल्मका रूपमा आएको भन्नेमा विश्वास रहेको देखिन्छ । 

यस्ता विशेषता भएकै कारण दर्शकहरू 'लाज शरणम्' हेर्न हलसम्म पुग्न सक्छन् । बाँकी त शिवरात्रीमा प्रदर्शन भएपछि थाहा भइहाल्छ । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्