Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुदै

मंगलबार, फागुन १३, २०८१

काठमाडौँ - अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुने भएको छ । युक्रेनका उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले युक्रेन र अमेरिका खनिज सम्झौताको वार्ताको अन्तिम चरणमा रहेको बताएकी हुन् ।

यस महिनाको सुरुमा राष्ट्रपति भोलोडीमिर जेलेन्स्कीले अमेरिकी सैन्य सहयोगको बदलामा अमेरिकालाई युक्रेनी खनिजहरूमा पहुँच दिने सम्झौतालाई अस्वीकार गरेका थिए । तर स्टेफानिसिनाले युक्रेनी र अमेरिकी टोलीहरू खनिज सम्झौताको सम्बन्धमा वार्ताको अन्तिम चरणमा रहेको जानकारी गराएकी छन् ।

उनले वार्ताहरू धेरै रचनात्मक भएको र लगभग सबै प्रमुख विवरणहरू अन्तिम रूप दिइएको बताएकी छन् । साथै उनले युक्रेन यसको हस्ताक्षरको साथ अगाडि बढ्न र यसलाई छिटो पूरा गर्न प्रतिबद्ध रहेको समेत बताएकी छन् । उनले भनेकी छन्- 'हामी आशा गर्छौं, अमेरिका र युक्रेन दुवै नेताहरूले आगामी दशकहरूको लागि हाम्रो प्रतिबद्धता प्रदर्शन गर्न चाँडो भन्दा चाँडो वाशिंगटनमा हस्ताक्षर र समर्थन गर्न सक्छन् ।'

राष्ट्रपति जेलेन्स्कीले खनिजसम्बन्धि सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई व्यक्तिगत तहमै आक्रमण शुरु गर्दै उनलाई तानाशाहसम्म भनेका थिए । साथै ट्रम्पले युक्रेनमा चुनाव गराउने र जेलेन्स्कीलाई पदबाट हटाउनेसम्मको दबाब बढाएका थिए । यसैबीच जेलेन्स्कीले पनि अमेरिका आफ्नो विपक्षमा गइरहेको बुझेपछि युक्रेनमा शान्ति हुने शर्तमा पद छोड्न तयार रहेको अभिव्यक्ति समेत दिएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले खुला रुपमा नै युरोपले युक्रेनलाई सित्तैमा सहयोग नगरेको र अमेरिकाले पनि नगर्ने भन्दै युक्रेन युद्धबाट पछि हट्ने बताएका थिए । ट्रम्पकै प्रयासमा पुटिनसँगको कुराकानीपछि अमेरिकी र रुसी वरिष्ठ कुटनीतिज्ञबीच साउदी अरेबिया पहिलो चरणको वार्ता समेत भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्