सशस्त्र प्रहरी इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः अर्का इन्स्पेक्टर जोशीलाई पक्राउ गरियो
काठमाडौं– ब्यारेकमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत प्रकरणमा अर्का इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ।
सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए। उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ परेका इन्सप्क्टर २३ नं.गण तनहुँमा कार्यरत छन्। उनी १६ बेसिकका इन्सपेक्टर हुन्। जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ। उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ।
यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले समेत राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
मृतक महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन्। सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन्।
२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन्। त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन्।
नेपाल प्रहरीले अनुसन्धान जारी राखे पनि सशस्त्र प्रहरी बलको आन्तरिक छानबिन पनि कायम रहने बताइएको छ।