बलात्कार घटना दबाउन खोज्दा रिंकुको मृत्यु प्रकरणः पञ्चायती गर्ने ३ जनालाई प्रहरीले समात्यो
काठमाडौं– सामूहिक बलात्कार प्रकरणमा पञ्चायतीले अन्याय गरेपछि आत्महत्या गरेकी रिंकु सदाय मृत्यु प्रकरणमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दासलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरिएको छ।
थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ।
मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएको थियो।
कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी परेको थियो।
सामूहिक बलात्कार आरोपका तीन जना र गाउँमै मिलाउन खोज्ने पाँच जना रहेका छन्।
गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो।
सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो। वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो। पीडकहरुबाट एक लाख ४० हजार रुपैंया जरिवाना गराएर घटना दबाउने प्रयास गरिएको थियो। तर, अन्याय भएपछि रिंकुले आत्महत्या गरेको परिवारको दाबी थियो।