Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाशिवरात्रीः दुई सेकेन्डमा १० जना भक्तजनले पशुपति दर्शन गर्न पाउनेगरी मिलाइयो व्यवस्था 

मंगलबार, फागुन १३, २०८१

काठमाडौं– महाशिवरात्रीका अवसरमा पशुपति दर्शन गर्ने भक्तजनका लागि सहज व्यवस्थापनसहितको तयारी पूरा गरिएको छ। 

दुई सेकेन्डमा १० जना भक्तजनले दर्शन गर्न पाउनेगरी व्यवस्था गरिएको पशुपति विकास कोषले जनाएको छ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिएका छन्।

सोमबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको थियो।

पशुपति दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने कोषको प्रयत्न रहेको जानकारी दिँदै खत्रीले भने,‘गत वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ।’

उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन–तीन र पूर्व र दक्षिण ढोकामा दुई–दुई वटा लाइन रहने जानकारी दिए।

यसअघि उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधन व्यवस्थापनलाई चुस्त बनाइएको जानकारी दिएको थियो।  

फागुन १४ अर्थात् बुधबार बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गरिने कोषले जनाएको छ।
यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्ने कोषको अपेक्षा छ। 

शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। 

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताए । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य मंगलबारसम्म पूरा हुनेछ। नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ।

महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौंको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्