केआईआईटीमा प्रकृति लम्सालको मृत्युः सुनिलसँग प्रधानमन्त्री ओलीको भावुक संवाद
काठमाडौं– ‘सम्हालिनुस्। आवश्यक के–के गर्नुपर्ने हो गरौंला, म पहल लिन्छु’, प्रधानमन्त्री केपी शर्मा ओलीले सुनिल लम्साललाई भने,‘भैसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भैसक्यो।’
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी सिद्धार्थनगर–८ की प्रकृति लम्सालका बुवा हुन् सुनिल। उनै सुनिलसँग प्रधानमन्त्री ओलीले भावुक संवाद गरेका छन्।
ओलीले प्रकृतिकी आमासँग समेत कुराकानी गरेका छन्। यसको चाँजोपाँजो एमाले युवा नेता महेश बस्नेतले मिलाएका थिए।
कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको बताएका थिए।
प्रधानमन्त्री ओलीले सुनिललाई सोधे,‘अहिले क्याम्पसको अवस्था र त्यसबारे केही जानकारी राख्नुभएको छ?’
सुनिल भन्छन्,‘क्याम्पसका विषयमा त जानकारी छैन। तर, छोरीको घटनामा छानबिन भैरहेको भन्नेचाहिँ जानकारीमा छ।’
पोष्टमार्टम रिपोर्ट आइसकेको र फरेन्सिक जाँचको प्रगति थाहा भने नभएको उनले प्रधानमन्त्री ओलीलाई जानकारी गराउँछन्।
प्रकृतिका बुवा सुनिलले आगामी दिनमा यस्ता घटना नहोस् भनेर राज्यले पहल गरिदिनुपर्ने बताएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले घटनालाई चासोपूर्वक हेरिरहेको बताए।
प्रधानमन्त्री ओलीले त्यस घटनाबारे निष्पक्ष छानबिनसहित र दोषीलाई कारबाही पनि हुने विश्वास व्यक्त गरेका थिए।
राज्यका तर्फबाट पनि पहल कदमी लिएको जानकारी ओलीले सुनाएका थिए। यसअघि परराष्ट्रमन्त्री आरजु राणाले पनि केआईआईटी प्रकरणमा पहल गरेकी थिइन्।