झापामा घुर्की देखाएका माओवादी बरिष्ठ उपाध्यक्ष श्रेष्ठले माफी मागे, यसअघिको अर्को घटना
काठमाडौं– तराई मधेस हुलाकी राजमार्गको अभियान उद्घाटनको सम्बोधनका क्रममा घुर्की देखाएका माओवादी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माफी मागेका छन्।
झापाको कचनकबलमा सोमबार अभियान उद्घाटनमा बोल्ने क्रममा उनी रिसाएका थिए। सम्बोधन नै नगरी पोडियम छाडेका श्रेष्ठले सोमबारका अन्य कार्यक्रममा सहभागीता जनाएका थिएनन्।
तर मंगलबार चितवनमा पुगेर भने उनले माफी मागेका छन्।
चितवनका शहीद परिवारसँग भेटघाट शहीद पार्क शितलपुर गर्ने, माडीका अगुवा कार्यक्रता प्रशिक्षण र शिवरात्री मेलाको उद्घाटन गरेर साँझ अभियानमै फर्किने तयारी रहेको जनाइएको छ।
उनले चितवन पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा बोलेको भए पनि मनोवैज्ञानिक अवरोध सिर्जना गरिएको बताए।
उनले भने, ‘अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ। अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो। बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो। त्यसले मलाई बिझायो। त्यसपछि मैले नबोलेको हो।’
त्यो घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डकै नेतृत्वमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने प्रण गरे।
त्यसो त सार्वजनिक मञ्चमा श्रेष्ठ रिसाएको यो पहिलो पटक होइन। तत्कालिन प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा गरेका केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध भृकुटीमण्डपमा गरिएको सभामा पनि श्रेष्ठ रिसाएका थिए।
उनले कार्यक्रम प्रभावित बनाउँदै साइडमा अन्तरवार्ता लिएको भनी पत्रकार ऋषि धमलालाई हप्काएका थिए। ‘ओ ऋषि, ऋषिजी तपाई साइडमा कार्यक्रम नगर्नुस्’, सभाको उद्घोषक रहेका श्रेष्ठले हप्काउँदै भनेका थिए।