Nic Ad Nic Ad
Nic Ad Nic Ad

कहालीलाग्दो तथ्याङ्कः महिनामा ६६ हजार, दिनमा २२ सय जना विदेशिन्छन्

मंगलबार, फागुन १३, २०८१

काठमाडौं– यसै आर्थिक बर्षको ७ महिनाको तथ्याङ्कले रोजगारीको खोजीमा विदेशिने नेपालीको अवस्था कहालीलाग्दो देखाएको छ।

चालु आर्थिक वर्ष २०८१–८२ को (साउनदेखि माघ) पहिलो सात महिनामा वैदेशिक रोजगारीका लागि चार लाख ६५ हजार पाँच सय आठ जनाले श्रम स्वीकृति लिएका छन्। 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउनमा ५९ हजार पाँच सय ७५, भदौमा ५७ हजार चार सय ९३, असोजमा ५३ हजार पाँच सय २५, कात्तिकमा ७० हजार नौ सय ९०, मंसिरमा ८४ हजार दुई सय २६, पुसमा ६७ हजार दुई सय ५८ र माघमा ७२ हजार चार सय ४१ जनाले रोजगारीका लागि विभिन्न देश जान श्रम स्वीकृति लिएका हुन्।

यो तथ्याङ्कअनुसार महिनाको ६६ हजार र दिनको २२ सय जना अनुपातका हिसाबमा देश छाडिरहेका छन्।

श्रम स्वीकृति लिने संख्या सबैभन्दा धेरै मंसिरमा र कम असोजमा रहेको छ। प्रमुख चाडपर्व सकिए लगत्तै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको मंसिरको तथ्याकंले देखाएको छ। वैदेशिक रोजगारीका लागि मंसिरमा ८४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए त्यसपछि माघमा ७२ हजार पुगेको छ। २०८१ साउनदेखि माघ मसान्तसम्ममा श्रम स्वीकृति लिनेमा चार लाख १२ हजार पाँच सय ५२ जना पुरुष र ५२ हजार नौ सय ५६ जना महिला छन्। माघमा बाहिरिनेमध्ये ६४ हजार तीन सय ११ जना पुरुष रहेका छन् भने आठ हजार एक सय ३० जना महिला बाहिरिएका छन्।

चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) जान श्रम स्वीकृति लिएका छन्। चालु आवको साउनदेखि माघसम्ममा मात्रै युएईका लागि एक लाख ४८ हजार एक सय ३३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले जनाएको छ। 

युएईमा श्रम स्वीकृति नलिएका महिला तथा पुरुषको गणना तथ्यांकमा छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। अहिलेको सन्दर्भमा महिला र पुरुष दुवैको रोजाइ युएई भएको विभागका अधिकारीहरूले बताएका छन्। 

युएईपछि सबैभन्दा धेरै साउदी अरेबियाको लागि श्रम स्वीकृति लिएका छन्। साउदी अरेबियाको लागि सात महिनामा ९१ हजार तीन सय ४७ र कतारको लागि ८२ हजार २०० जनाले श्रम स्वीकृति लिएका छन्। मलेसियाको रोजगारी भने निरन्तर ओरालो लागेको छ।

श्रम बजारमा आप्रवासी श्रमिक संख्या बढी भएको भन्दै मलेसियाले मे अन्तिमसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको थियो। त्यसैले मलेसिया जाने नेपालीको संख्यामा कमी आएको हो। सात महिनामा मलेसियाका लागि १८ हजार एक सय ६४ जनाले श्रम स्वीकृति लिएका छन्। 

युएई जहिल्यै पहिलो श्रम गन्तव्य मुलुक बन्न पुगेको छ। वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या घटे पनि गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको संख्या बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको छ।

पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपाली जाने गरेको विभागको तथ्यांक छ। साथै नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको छ। 

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै धनुषा र सबैभन्दा कम मनाङ रहेको विभागको तथ्यांकले प्रस्ट्याएको छ। 

केही वर्षदेखि धनुषा एक नम्बरमै छ। त्यस जिल्लाबाटै युवाहरू विभिन्न मुलुकमा रोजगारीको खोजी गर्दै बिदेसिएका छन्। वैदेशिक रोजगारीमा जानेको संख्या हरेक वर्ष बढे पनि अन्य जिल्लाले धनुषालाई उछिन्न सकेका छैनन्। 

यस अवधिमा सबैभन्दा धेरै धनुषाबाट २४ हजार दुई सय ६१ जना बाहिरिएका छन् भने सबैभन्दा कम मनाङबाट एक सय ४२ जना युवा मात्रै रहेको विभागले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्