नवलपरासी पश्चिममा साउथ फिल्म जस्तो घटनाः बिहेका निहुँमा कुटपिटपछि झडप, प्रहरीको गाडी जलाइयो
काठमाडौं– भागी विवाहको विषयको विवाद तन्किँदै जाँदा कुटपिट र झडपसम्म हुँदा नवलपरासी पश्चिमको पाल्हिनन्द गाउँपालिका–३ का स्थानीय दुई समूहका विभक्त भएका छन्।
उक्त घटनाले उग्र रुप लिँदा झडप नियन्त्रणका लागि पुगेको प्रहरीको गाडी जलाइएको छ। यो घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको जनाएको छ।
स्थिती नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको थियो। ‘तीन महिनाअघिको बिहेको घटनाबाट सृजित समस्या हो’, अनुसन्धान अधिकारी भन्छन्,‘फेरि कुटपिट भएपछि स्थिति झडपसम्ममा पुग्यो। प्रहरीको गाडी जलाइएको छ।’
झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो।
करिब तीन महिनाअघि सो गाउँका युवायुवतीले भागी विवाह गरेपछि विवाद भएको थियो। सो क्रममा केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए।
उक्त घटना वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गरेपछि सुल्झिएको थियो।
त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।
सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेपछि विवाद बल्झिएको स्थानीय बताउँछन्। कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ।
यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए। प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ।
कुनै साउथ फिल्मको कथा जसरी नै घटनाक्रम बढेको स्थानीय बताउँछन्।
उक्त विषयले मंगलबार सदनमा समेत प्रवेश पाएको थियो। प्रतिनिधि सभा सदस्य अमरेश सिंहले उक्त घटनाबारे सभामुख देवराज घिमिरेमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।