सेनाका ‘दुई तारे’ जर्णेल अधिकारीको जागिर ६ महिना थपियो
काठमाडौं– नेपाली सेनाका उपरथी (दुई तारे जर्णेल) प्रेमध्वज अधिकारीको जागिर ६ महिना थपिएको छ।
प्रधान सेनापति अशोकराज सिग्देलको मुल्यांकन, रक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको सोमबारको बैठकले उनको जागिर ६ महिना लम्ब्याउने निर्णय गरेको हो।
प्रधान सेनापतिले चाहेको अवस्थामा पदावधि थप गर्न सिफारिस गर्न सक्ने सैनिक ऐनमा व्यवस्था छ।
सैनिक ऐन २०६३ को दफा १७, ९३० मा लामो अवधिसम्म सेवा गरी शारीरिक रूपमा सक्षम रहेका अधिकृतको सेवा नेपाली सेनाका लागि आवश्यक छ भनी मनासिव आधार र कारण खोली नेपाल सरकार समक्ष प्रधानसेनापतिले सिफारिस गरेमा नेपाल सरकारले पदावधि थप गर्न सक्ने उल्लेख छ।
सोही व्यवस्था अनुसार प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसमा उमेर हदसँग मिल्नेसम्म मात्रै पदावधि थप गरिएको हो।
उपरथीको ५७ वर्षे उमेर हद छ। यो अवधिमा अधिकारी रथीमा बढुवा नभएमा अवकास हुनेछन्। रथीको उमेर हद ५८ वर्षे छ।