...अनि बागमती प्रदेशका गरिबी निवारण मन्त्रीका पिएले खाएका थिए ‘बिष’, सुसाइड नोटमा के छ?
काठमाडौं– ललितपुरस्थित सुमेरु सहकारीसम्बन्धमा गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि बागमती प्रदेशका गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिवले विष पिएर आत्महत्या गरेको विवरण सार्वजनिक भएको छ।
सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए। कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।
धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौँका प्रहरीले जनाएको छ।
कोठामा कोही नभएको मौका पारेर थापाले विषादी सेवन गरेको घटना विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
कोठामा थापाका दाइ पुग्दा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो।
उनको सोमबार साँझ साढे ६ बजे निधन भएको बताइएको छ।
थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको छ। सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको पत्रमा उल्लेख छ।
सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडिओका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ।
सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको मन्त्री श्रेष्ठले बताए।
मृतक थापाको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडिओ सम्पादन गरी प्रयोग गरेको विवरण रहेको मन्त्री श्रेष्ठको भनाइ छ।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।