राप्रपा सांसद शाहीले राष्ट्रिय सभालाई फेरि ‘वृद्धाश्रम’ भनेपछि ...
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि ‘वृद्धाश्रम’ भनेका छन् । प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभालाई फेरि ‘वृद्धाश्रम’ भनेका हुन् ।
सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा कमजोरी रहेको बताएका छन् ।
वैदेशिक लगानीसम्बन्धी ऐनले आम सञ्चारमा वैदेशिक लगानी ल्याउन नपाउने प्रावधान रहेको तर, आम सञ्चार विधेयममा आम सञ्चारमा वैदेशिक लगानी आउन सक्ने गरी खुला राखेको भनेर प्रश्न उठाए । सांसद शाहीले भने, ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदैन भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’
शाहीको अभिव्यक्तिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन् । राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका थिए । संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत भएको उनले बताए । उनले संविधान, कानुन अनुसारको अभिव्यक्ति नरहेको भनेर सभामुखको ध्यानाकर्षण गरे । सभामुखले ध्यानाकर्षण भएको बताएपछि माओवादी प्रमुख सचेतक पाण्डे बसे ।
तर, सांसद शाहीले पाण्डेलेलाई जवाफ दिए, ‘म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो । मेराविरुद्धमा राष्ट्रिय सभामा खेद प्रस्ताव पारित हुँदा तपाईको ध्यान कहाँ थियो ?’ त्यसपछि नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद शाहीको अभिव्यक्तिमा आपत्ति जनाए । सभामुखले रुलिङ गरिसकेपछि व्यक्ति केन्द्रित भएर अभिव्यक्ति दिन नहुने भनेर सांसद पन्तले बताए ।
सांसद शाहीले यसअघि पनि राष्ट्रिय सभाका सांसदहरूलाई ‘वृद्धाश्रम’ भनेका थिए । सो प्रति राष्ट्रिय सभा सांसदहरूले नै आपत्ति जनाएका थिए । सभामुख घिमिरेले सांसद शाहीलाई व्यक्ति केन्द्रित नभएर बोल्न भने। त्यसपछि सांसद शाहीले ‘राष्ट्रिय सभा विज्ञको सभा हुनुपर्नेमा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र हुन पुगेको’ टिप्पणी गरे । ‘राष्ट्रिय सभा विज्ञहरूको भर्ती केन्द्रका लागि बनाइएको हो तर, अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो ?’
राष्ट्रिय सभामा ‘विज्ञ खै’ भनेर उनले प्रश्न गरे । ‘कानुन विज्ञ खै ? अर्थ विज्ञ खै ? कुटनीतिक तथा परराष्ट्र विज्ञ खै? चलचित्रको विज्ञ खै ? कृषि विज्ञ खै ? सञ्चार विज्ञ खै ? शिक्षा विज्ञ खै ? स्वास्थ्य विज्ञ खै ? आविश्कार तथा अन्वेष्ण विज्ञ खै ? सांस्कृतिक तथा पर्यटन विज्ञ खै ? पूर्वाधार तथा भौतिक विज्ञ खै ? सुरक्षा तथा रक्षा विज्ञ खै ?’ राष्ट्रिय सभामा विज्ञहरू नरहेको र राजनीतिक दलका कार्यकर्ता मात्रै रहेको सांसद शाहीको अभिव्यक्तिमा पनि एमाले सांसद पन्तले आपति जनाए । सभामुख घिमिरेले पन्तलाई बोल्न दिन त्यसपछि आफ्ना विषय भए राख्न सुझाए ।