बांङ्लादेश र पाकिस्तानबीच सुरु भयो सिधा व्यापार
ढाका- बांङ्लादेश र पाकिस्तानले दशकौंदेखिको तनावपूर्ण सम्बन्धपछि सरकार–सरकारबीच प्रत्यक्ष व्यापार सुरु गरेका छन् । पाकिस्तानबाट बांङ्लादेशका लागि ५० हजार टन चामल आयातसँगै दुई देशबीचको सिधा व्यापार सुरु भएको हो ।
यी दुई देश कुनै समय एउटै राष्ट्र थिए, तर सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका थिए । विभाजनपछि बांङ्लादेश भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो ।
यद्यपि, लामो समयदेखि बांङ्लादेशी प्रधानमन्त्री रहेकी शेख हसिनालाई अगस्त २०२४ को क्रान्तिमा अपदस्थ गरिएको थियो, उनी हेलिकप्टरबाट आफ्ना निकट सहयोगीसहित आफ्नो पुरानो सहयोगी भारतमा पलायन भएका थिए ।
उनीविरूद्ध मानवताविरुद्धको अपराधको आरोप लागेको छ र अनुसन्धानका लागि बांङ्लादेशको अन्तरिम सरकारले सुपुर्दगी गर्न भनेको छ । तर, भूतपूर्व प्रधानमन्त्री हसिनाले अनुरोधलाई बेवास्ता गर्दै आएका छन् ।
त्यसयता, भारत र बांङ्लादेशको नयाँ सरकारबीचको सम्बन्धमा चिसोपन आएको छ, जसले गर्दा इस्लामावाद र ढाकाले बिस्तारै सम्बन्धलाई पुनः निर्माण गर्ने अनुकूलता बनेको छ ।
सन् २०२४ को नोभेम्बरमा पाकिस्तानको कराँचीबाट बांङ्लादेशको चटगाउँका लागि कन्टेनर जहाज चल्न थालेपछि यी दुई देशबीच प्रत्यक्ष निजी व्यापार पुनः सुरु भएको हो । दशकौँपछि यी दुई देशबीच सिधा यात्रा गर्ने यो पहिलो मालवाहक जहाज थियो ।
‘पहिलो पटक हामीले पाकिस्तानबाट ५० हजार टन चामल आयात गरेका छौँ र यो दुई देशबीचको पहिलो सरकार–सरकारबीचको सम्झौता हो,’ ढाकास्थित खाद्य मन्त्रालयका वरिष्ठ अधिकारी जियाउँदिन अहमदले मंगलबार भने ।
बांङ्लादेशको खाद्य महानिर्देशनालयले जनवरीमा सरकारी स्वामित्वको ट्रेडिङ कर्पोरेसन अफ पाकिस्तान (टीसीपी) सँग चामल आयातका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।