राष्ट्र बैंकद्वारा १९ बुँदे निर्देशन जारी
काठमाडौँ - नेपाल राष्ट्र बैंकले १९ बुँदे नयाँ निर्देशन जारी गरेको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गर्दै निर्देशन जारी गरिएको हो ।
‘यसअघि जारी गरिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थालाई प्रतिस्थापन गरी संलग्नबमोजिम कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरिएको हुँदा सोही अनुसार गर्नु गराउनु हुन यो निर्देशन जारी गरिएको छ’, नयाँ निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार अब कोषमा सूचीकृत व्यक्तिको पहिचान गर्नुपर्नेछ । सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्तिको खाता वा अन्य कुनै रकम संस्थासँग रहेको भएमा तत्काल रोक्का राखी सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखालाई ३ दिनभित्र जानकारी गराउनुपर्नेछ र सोको एक प्रति वित्तीय जानकारी इकाईलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
उच्च पदस्थ व्यक्तिको पहिचान गर्नुपर्नेछ । उनीहरूको वर्गीकरण समेत गर्नुपर्ने व्यवस्था गरिएको छ ।