तनहुँको ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरा -जग्गाको विवादमा तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेका छन् । भीमाद नगरपालिका–६ मालेबगरमा रहेको गाउँपालिका अयक्ष श्रेष्ठले घरमा बोलाएर किटपिट गरेको आलेले बताए ।
भीमाद मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए, त्यो जग्गाको विषयमा उनीहरुबीच ७/८ वर्षदेखिको विवाद थियो । विवादकै कारण श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी प्रहार गरेको आलेले बताए ।
‘त्यो जग्गाको विवाद मिलाउन भनेर उनलाई फोन गरेको थियो। उनले ल घरमै आउ न त भने र उनको घर गएको थिएँ । उसले एक्कासी आक्रमण गर्यो,’ आलेले भने, ‘मैले कसैमाथि हात उठाएको होइन, जाँदाजाँदा ममाथि अध्यक्षबाटै आक्रमण भयो। अब म कानुनी उपचारमै लाग्छु।’ अब कसैले सहमति गरौं भनेर भने पनि आफू त्यसमा सहमत नहुने आलेले बताए।
प्रभात आले २०१५ सालमा तनहुँबाट कांग्रेस सांसद बनेका पदमबहादुरका छोरा तथा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सांसद जीतप्रकाश आलेका भाइ हुन् । आलेले किटानी जाहेरी दिने बताएका छन्। दुवै जना एउटै पार्टी कांग्रेसमा रहेकाले जाहेरी नदिनका लागि दबाब भइरहेको छ ।
‘मैले कसैमाथि हात उठाएको होइन, जाँदाजाँदा ममाथि अध्यक्षबाटै आक्रमण भयो। अब म कानुनी उपचारमै लाग्छु।’
सांसद जीतप्रकाशले जग्गाको विवादमा आफू नरहेको र घटनाबारे अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । गाउँपालिका अध्यक्ष श्रेष्ठले पुरानो जग्गाको विषयमा उनले लफडा गर्दै हात उठाउन थालेपछि पाइपले हानेर पठाएको स्वीकारेका छन् ।
पुरानो जग्गाको विषयमा ८/९ वर्ष पछाडि उनले मेरो घरमै आएर हात उठाउने, पख तँलाई मैले जे पनि गर्न सक्छु भनेपछि घरमै एउटा पाइप थियो, त्यसैले हिर्काएर पठाइदिएको हो, त्यो देख्ने गाउँलेहरु छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘रातबिखयमा घरमा आएर लफडा गरेपछि एक पाइप हानेको हो ।’
इलाका प्रहरी कार्यालय बेलचौतारा प्रमुख पोषण थापाले अध्यक्षबाटै कुटपिट भएको ठाडो उजुरी आएको बताए । ‘किटानी जाहेरी त परेको छैन तर अध्यक्षबाटै आक्रमण भयो भनेर ठाडो उजुरी आएपछि प्रहरी पुग्यो। घाउ परीक्षणका लागि पठाइएको छ र घटनाको अनुसन्धान भइरहेको छ,’ थापाले भने ।