किन मनाइन्छ महाशिवरात्रि पर्व
काठमाडौं– आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो भन्दा अत्युक्ति हुँदैन । महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो ।
भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान् शिवले यो सृष्टिलाई ठूलो संकटबाट बचाएका थिए । यही सम्झनामा महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान् शिवको गला निलो भएको थियो । जसका कारण भगवान् शिवलाई निलकन्ठ पनि भनिन्छ ।
शास्त्रअनुसार पार्वती र शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । भनिन्छ, यो दिन भगवान् शिवको पूजा आराधना गर्नाले भगवान् शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको व्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरू कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने एउटा मान्यता रहेको छ ।
त्यसतै, पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन भगवान् शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरूपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आराधना गर्ने विधान रहेको छ ।
शिवरात्रिमा पशुपतिनाथकै दर्शन किन ?
महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ । तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा धेरै दर्शनार्थी देश विदेशबाट आउँछन् ।
पशुपति नाथकै दर्शन किन गर्ने त ? ‘४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ । त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउने उल्लेख गरिन्छ । पशुपतिनाथको दर्शनले पशुत्वभाव नष्ट हुन्छ भन्ने मान्यता छ । पशु भाव हटेर चेतनाको जागृत हुने भएकाले पशुपतिनाथको दर्शन गरिन्छ।
फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान् पशुपतिनाथकै प्रिय दिन, व्रतहरूको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्त्वपूर्ण दिनका रूपमा लिन्छन् ।
पूजा गर्ने विधि
भगवानको दर्शन कामना लिएर मात्र गरिन्न । व्रत अपेक्षासाथ गरिएको छ भने साधकले विहान उठेर नुहाउनुपर्छ । सकिन्छ निराहार सकिँदैन फलाहार गरेर षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ ।
पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घिउले, सद्योजात लिंगोद्भव मूर्तिलाई महले र तत्पुरुष मूर्तिलाई शर्कराले स्नान गराइन्छ । मध्यरात शिवधुनी जगाइन्छ ।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभिष्टतम पदार्थको प्राप्ति हुन्छ ।
यसरी भयो प्रारम्भ
पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो ? भन्ने विषयमा विवाद भयो । विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे । त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रूपमा प्रकट भए । पुराणमा भनिएको छ– ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः ।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए । यो लिंग निराकार ब्रह्मको प्रतीक हो ।
दुवैले त्यस लिंगको पूजा गरिसकेपछि भने– ‘हे भगवान्, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरूले पूजा कसरी गर्नेछन् ? यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रूपमा विभक्त भए । त्यस दिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रूपमा चल्दै आएको छ ।
हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । भगवान् शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ ।