नेभिगेशन
खेलकुद

फोर नेसन्स् महिला फूटबल फाइनलः नेपालका लागि किन महत्वपूर्ण छ?

काठमाडौं– ५५औं स्थानमा रहेको म्यानमार राष्ट्रिय टोली र १०३औं स्थानमा रहेको नेपालबीचमा यसअघिको फोर नेसन्स् खेलको बराबरीको चर्चा कम छैन।

२–२ को बराबरीको फूटबल प्रतियोगिताबाट नेपाली टोली हौसिएको छ भने घरेलु मैदानमा जित निकाल्नका लागि आतुर छ। बुधबार साँझ फाइनल हुँदैछ। 

यो मैत्रीपूर्ण खेल भए पनि नेपालका लागि ‘प्रतिष्ठाको विषय’का रुपमा हेरिएको छ। प्रतिक्षाको खेलका निम्ति दर्शक व्यग्र छन।

हुन त यो एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल मात्रै हो, जसको उद्देश्य आफ्नो राष्ट्रिय टोलीको जाँच गर्ने र कमीकमजोरीलाई सुधार्ने हो।

तर अखिल नेपाल फूटबल सङ्घ एन्फाले पहिलो पटक आयोजना गरेको महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यतिमै सीमित देखिँदैन।

यसमा दर्शकको अत्यधिक चासो जोडिएको छ, प्रतिस्पर्धाको स्तर थपिएको छ, नेपाली टोलीको लागि प्रतिष्ठाको विषय बनेको छ, अनि उसको उपाधिको भोक पनि जोडिएको छ।

नेपाली कप्तान गोलकीपर एन्जिला तुम्बाप्पो सुब्बाले फाइनल अघिको प्रिम्याच प्रेस कन्फरन्समा घरेलु मैदानमा उपाधि जित्न आतुर रहेको बताएकी थिइन्।

यो फिफाको क्यालेन्डरमा खेलिएको खेल हो, जसको नतिजाले राष्ट्रको वरीयता सुधार्न सहयोग गर्ने छ।

जारी प्रतियोगिताको खास उद्देश्य आगामी जुनमा हुने एशियन कप छनोट, महिला विश्वकपको प्रारम्भिक छनोट र ओलिम्पिकको पनि प्रारम्भिक छनोटको तयारी हो।

महिला फूटबल टोलीले अझैसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। बाह्र पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेर पनि रजत पदकमा सीमित हुनुपरेको पीडा उसलाई बिर्साउनु छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद