नेभिगेशन
मनोरञ्जन

नेपालमा फिल्म बनाउन भन्दा देखाउन गाह्रो, 'लाज शरणम्' ले भोगेको हैरानी यति धेरै

हलिउड र बलिउडमा फिल्मको कमाइ भनेर बक्स अफिसको रिपोर्ट सार्वजनिक गर्दा करोडौँ, अरबौँको हुन्छ । नेपालमा पनि अहिले १० करोडको आसपासमा कमाइ गर्ने भनिएका फिल्महरूको सूचि निकै लामो भइसक्यो । 

छक्का पञ्जा श्रृंखलाले २० करोड हाराहारीको कमाइ गरेका छन् । १२ गाउँ फिल्मले २५ करोडको आसपासमा आम्दानी गर्यो । पुर्णबहादुरको सारङ्गीले भने कसैले कल्पनै नगरेको कमाइ गर्यो । विश्वभरिकै कमाइ हिसाब गर्ने हो भने यो फिल्मले ७५ करोडको आसपासको कमाइ गर्यो । 

यो सबै तथ्याङ्कहरू हेर्दा धेरैलाई फिल्म बनाउनु पैसा कमाउने सबै भन्दा सहज तरिका हो भन्ने लाग्न सक्छ । अझ फिल्मसँगै आउने चर्चा र सेलिब्रिटीसँगको हिमचिमले यो क्षेत्रतिर झन् आकर्षण बढाउँछ । 

तर दुर्भाग्य, नेपाली फिल्म क्षेत्र देखिए जस्तो चमकधमक छैन । यहाँ फिल्म बनाउनका सिमाहरू त छन् नै, त्यो भन्दा धेरै अफ्ठ्याराहरू छन् । नेपाली फिल्म हेर्नेको संख्या साह्रै ठुलो नभएकाले चाहे जस्तै खर्च गरेर चाहे जस्तै फिल्म बनाउन सिमाहरू छन् । प्राविधिक पक्षमा पनि सम्झौता गर्न पर्छ । यी सबै तोडेर फिल्म बनाइन्छन् । 

फिल्म बनाउन सुरू भएदेखि फिल्म प्रदर्शनमा ल्याउन अन्तिम सम्पादन भएसम्म फिल्म निर्माणपक्षको मिहिनेत र खटाइ कल्पना गरे भन्दा धेरै हुन्छ । एउटा सिपाहीले युद्ध लडेर आफु र सिमाना बचाए जस्तो गरेर युद्ध लडेका हुन्छन् निर्माण पक्षले । 

अपवाद बाहेक हरेक नेपाली फिल्म निर्माणपक्षले यी कुरा भोगिरहेका हुन्छन् । सबैले भोगेका कारण यसलाई सबैले सामान्यरूपमा लिएका हुन्छन् । तर केहि फिल्महरूको दुख र हैरानी फिल्म बनाए पनि सकिदैन । कतिपयलाई फिल्म प्रदर्शन गर्नै पनि झन् ठुलो हैरानी भोग्न पर्छ ।

कतिपयलाई यो कुरा अतिरञ्जित लाग्न सक्छ । तर आजबाट सार्वजनिक भएको फिल्म 'लाज शरणम्' ले भोगेको हैरानीको फेहरिस्त थाहा पाएपछि तपाईलाई पक्का विश्वास हुन्छ कि नेपालमा फिल्म बनाउन भन्दा देखाउन गाह्रो छ । 

'लाज शरणम्' फिल्मको जब टिजर भनेर युट्युबमा छोटो भिडियो सार्वजनिक भयो । 'लाज शरणम्' का लागि हैरानी त्यहिँबाट सुरू भयो । फिल्मको टिजरले नै दर्शकहरूलाई फिल्मप्रति आकर्षित बनायो । तर त्यसमा भएको सीताराम कट्टेलको 'लुक्स' ले चर्चा र विवादको नयाँ चरण पैदा गर्यो ।

सीताराम कट्टेलको पात्र कांग्रेसी नेता आलम जस्तै देखिएको दाबी गर्दै अदालतमा मुद्दा हालियो । अदालतले सेन्सरले निर्णय नगरि प्रचारसमेत नगर्नु भनेर फिल्मको पुरै प्रचार रोकियो । फिल्म प्रदर्शन गर्ने दिन नजिक आइरहदा फिल्मको प्रचारमा व्यस्त हुनुपर्ने समयमा निर्माताहरूले पहिले गरेका प्रचारहरू पनि लुकाउनु पर्ने अवस्था बन्यो । फिल्मको टिजर सार्वजनिक भएको थियो, त्यसलाई हटाइयो ।

सेन्सर बोर्डले गर्ने निर्णय नै अन्तिम निर्णय हुने थियो । यसैले निर्माणपक्ष सेन्सर बोर्डको निर्णय कुर्दै बस्न बाध्य भए । बिहीबार दिनभर सेन्सर प्रक्रिया चल्यो । शुक्रबार बल्ल सेन्सर भयो, तर सोहीदिन प्रमाणपत्र भने दिइएन । शुक्रबार नै प्रमाणपत्र दिएको भए शनिबार पनि फिल्म प्रचारको कार्यक्रम हुन सक्थ्यो । तर भोलिपल्ट शनिबार भएकाले प्रमाणपत्र पाउन अतिरिक्त एकदिन कुर्न पर्यो । यसले गर्दा फिल्मले अतिरिक्त एक दिन प्रचारविहीन रहनु पर्‍यो । 

आइतबार बिहान १२ बजे बल्ल सेन्सर प्रमाणपत्र दिइयो, जसपछि प्रचार गर्ने बाटो खुल्यो । तर जुन प्रमाणपत्र दिइयो, त्यसमा हस्ताक्षर गर्न बिर्सिएको रहेछ । त्यहिकारणले फेरि दिउँसो ४ बजे मात्र आधिकारिक रूपमा सेन्सर प्रमाणपत्र निर्माणपक्षले प्राप्त गर्यो ।  

त्यसपछि हटाइएको टिजर पुनः सार्वजनिक गरियो । बुधबार प्रदर्शन हुने मिति तय भएको फिल्मको अग्रिम बुकिङ सोमबारबाट खुल्ने थियो । त्यहि अनुसार ढुक्क भएर निर्माणटोली प्रचारमा निस्कियो । र हलसँग कुरा गर्न थाल्यो । तर चलचित्र संघले अर्को अवरोध खडा गर्‍यो, अदालतबाट पत्र (No Objection Letter) लिएर नआएसम्म फिल्म चलाउन नसक्ने घोषणा गर्‍यो ।  

फिल्म निर्माण टोलीले सबै कानुनी प्रक्रियाहरू मिलाइसकेको, बुकिङ खुलाउँदा कुनै समस्या भएमा त्यसबाट पर्ने आर्थिक र कानूनी कुरा आफूहरूले नै हेर्ने भन्दै पत्र नदिएसम्म बुकिङ नै खोलिएन । अन्ततः पत्र बुझाएपछि मात्रै बुकिङ खुल्यो । बुकिङ आक्रामक रूपमा अगाडि बढ्दै थियो, तर मंगलबार फेरि अर्को अवरोध आयो ।  

फेरि अदालतमा मुद्दा दर्ता गराउने प्रयास गरियो, जसमा सेन्सर बोर्डको चित्त नबुझेको भन्दै फिल्म रोक्नुपर्ने माग गरियो । तर अदालतले मुद्दा दर्ता नै नगर्ने निर्णय गर्‍यो, किनकि सेन्सर बोर्डले फिल्म चलाउन रोक लगाइसकेको थिएन ।  

यसरी धेरै हन्डर र हैरानी भोगेर एउटा नेपाली फिल्म 'लाज शरणम्' ले आजबाट प्रदर्शनी थालेको छ । दर्शकहरूले उत्साहितरूपमा अग्रिम बुकिङ गरेका छन् ।

विश्वमा सबैभन्दा गाह्रो काममध्ये एक फिल्म निर्माण गर्नु हो भनिन्छ । यसमा हरेक क्षेत्रका मानिसहरूको योगदान आवश्यक पर्छ, र टिम वर्क अत्यावश्यक हुन्छ । तर ‘लाज सरणम्’ का लागि भने गाह्रो कुरा फिल्म बनाउनमा मात्र होइन, त्यसलाई प्रदर्शन गराउनमा पनि भयो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन