नौ बर्षपछि आएको सिक्वेल ‘फेरि रेशम फिलीली’मा डेब्यू निर्देशक महर्जनको तारिफै तारिफ
काठमाडौं– ०७२ सालको महाभूकम्पको एक दिन अघि रिलिज भएको फिल्म ‘रेशम फिलीली’ले क्षतिको भरपाई पाउन मुस्किल परेको थियो।
त्यसबेला वैशाख ११ गते रिलिज भएको फिल्मको सिक्वेल नौ बर्षपछि ‘फेरि रेशम फिलीली’ बुधबारदेखि रिलिज भएको छ जसको प्रिमियर मंगलबार ललितपुरस्थित लविम मलको क्यूएफएक्स सिनेमामा भएको थियो।
यो फिल्ममा डेब्यु निर्देशक निरोज महर्जनले तारिफै तारिफ पाएका छन्।
सिनेमा आर्टस् जस्तो प्रतिष्ठित फिल्म निर्माण कम्पनी निर्मित सिनेमा भएकाले पनि काठमाडौंमा उपलब्ध अधिकांश सेलिब्रेटीहरू प्रिमियरमा उपस्थित थिए।
प्रिमियरअघि उनीहरूबीच चलेको खासखुसमा ९ वर्षअघिको सिनेमाको सिक्वेल कस्तो बनेको होला भन्ने कुरामा विशेष चासो रहेको पाइन्थ्यो।
अधिकांशले क्यामरा अगाडि अप्ठ्यारो नमानी सिनेमाको कमेडी शैली र त्यसले दिएको सन्देशको तारिफ गरे, जुन धेरैजसो नेपाली सिनेमाको प्रिमियरमा बिरलै हुने गर्छ।
कतिपय प्रिमियरमा त सिनेमा हेर्न पुगेका सिनेकर्मीहरू क्यामरा छल्दै हिँडेको देखिन्छ, तर हिजो भने फरक दृश्य देखियो, उनीहरू क्यामरा छलेर भागेनन्।
उनीहरूले क्यामरा अगाडि खुलेरै सिनेमाले पेट मिचिमिचि हसाएको भन्दै सिनेमाको तारिफ गरे।
सिनेमाको प्रिमियरमा पुगेका ‘उनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई सिनेमा ‘फिलीली’ अर्थात् राम्रो लागेको प्रतिक्रिया दिए भने वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमाको तारिफ गरे।
यसैगरी ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले सिनेमा आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए भने सिनेमाका ‘हरिया’ कामेश्वर चौरसियाको कामको तारिफ गरे।
‘पिताम्बर’ सिनेमाको प्रदर्शनको तयारीमा रहेकी निर्मात्री–निर्देशक कृषा चौलागाईंले ‘आउटस्ट्यान्डिङ’ अर्थात् ‘उत्कृष्ट’ भएको प्रतिक्रिया दिँदै ‘यो फिल्म हेरेन भने रमाइलो गर्नै बिर्सनुहुन्छ’ भनिन्।
अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि ‘फेरि रेशम फिलीली’ हेरेर ‘एकदमै रमाइलो’ लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले सिनेमा ‘एकदमै मनोरञ्जक’ बनेको बताइन्।
लेखक, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बाले ‘बबाल, बाबाल, बाबाल फिलिली’ भन्ने प्रतिक्रिया दिए। यस्तै चर्चित कमेडियन सुमन कार्कीले ‘बबाल मजा आयो, मस्त’ भन्दै सिनेमामा ‘हाजमोला’ चरित्र निर्वाह गरेका आफ्ना समकालीन साथी म्याकसम गौडेलको तारिफ गर्दै ‘म्याकसम गौडेल जिन्दावाद’ भने। उनले आफ्ना साथीलाई ठूलो पर्दामा पहिलो पटक देख्न पाउँदा खुशी लागेको बताए।
यसैगरी निर्माताहरू सरोज न्यौपाने र रोहित अधिकारीले सिनेमा बाबाल लागेको बताए भने हाल ‘जेरी अन टप’ निर्देशन गरिरहेका सुयोग गुरुङले पनि आफूलाई सिनेमा ‘दामी’ लागेको बताए।
यस्तै अभिनेत्री सिमरन खड्काले सिनेमा एकदमै राम्रो लागेको बताउँदै ‘कामेश्वर चौरसिया सर केकमा चेरी हुनुहुन्छ, सबै जना आएर हेरिदिनुहोला’ भनिन्।
व्यवसायिक बनेको भन्दै डेब्यू निर्देशक निरोज महर्जनको कामको तारिफ गरे। उनीहरूले नेपाली सिनेमाले राम्रो निर्देशक पाएको बताएका थिए।
उता स्ट्यान्डअप कमेडियन भरतमणि पौडेलले पनि म्याकसम गौडेलको उच्च प्रशंसा गर्दै आफूले सो भूमिका गर्न नसक्ने बताए। उनले गौडेलले ‘कस्तो दामी काम गरेको रैछ’ भने।
कमेडियन सुमन कोइरालाले सिनेमालाई ‘पैसा वसुल’ भन्दै ‘मलाई नेपालमा बनेको कमेडी फिल्म यत्तिको टेक्निकल, कथाहरू यत्तिको अर्गानिक र यस्तो राम्रो तरिकाले देखाएको थाहा छैन। अहिलेचाहिँ साँच्चिकै राम्रो फिल्म हेरेको महसुस भयो।’ उनले सबै कलाकारले आफ्नो पात्रमा ‘नेक्स्ट लेभल’ काम गरेको बताए।
कमेडियन कैलाश कार्कीले सिनेमालाई १० मा ९ रेटिङ दिए।