७० करोड रुपैंयामा अमेरिकाको गोल्ड कार्ड भिसा दिने ट्रम्पको घोषणा, अमेरिकामा बस्नेदेखि नागरिकतासम्म
काठमाडौं– ५० लाख अमेरिकी डलर झन्डै ७० करोड नेपाली रुपैंयामा अमेरिकाको गोल्ड कार्ड भिसा खरिद गर्नेगरी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ कार्यक्रम घोषणा गरेका छन्।
ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ। यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनुका साथै नागरिकता पाउने सहज बाटो खुल्ने सीएनएनले जनाएको छ।
‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भने, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।’
ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ।