Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेना दिवस नेपालको गौरवपूर्ण अतीतः नेपाली सेना

बुधबार, फागुन १४, २०८१

काठमाडौँ- नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष पहिचान कायम गरेको एक प्राचीन मुलुक हो । यो मुलुकको गौरवमय छवि, स्वाभिमान र स्वतन्त्र अस्तित्व अक्षुण राख्न इतिहासको विभिन्न कालखण्डमा धेरै व्यक्ति र संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन् ।

राजा र प्रजाबीचको सम्बन्ध तथा बहुजाति र बहुधर्मजस्ता विविधताका बीचमा पनि अपेक्षित सहकार्य कायम राख्न सेना सेतुको भूमिकामा थियो । जनता र सेनाको आपसमा सुमधुर सम्बन्धको इतिहास अन्य मुलुकमा वीरलै पाइन्छ ।

जनता र सेनाबीच समुचित समन्वय हुँदा मुलुक सबल र सक्षम भएको देखिन्छ । जनता र सेनाको सहकार्यबाट नै विभिन्न कालखण्डमा विभिन्न राजवंश स्थापित हुन पुगेका छन् भने कार्यगत एकता नहुँदा मुलुक नै विखण्डन भएका दृष्टान्त पनि पाइन्छन् । नेपालको इतिहास हेर्ने हो भने सैनिक र निजामती प्रशासनमा विगतमा तात्विक फरक थिएन ।

सैनिक अधिकारी नै कार्यपालिका र न्यायपालिकामा स्थानीय प्रशासनका प्रमुख रहन्थे । यिनै सैनिक अधिकारी केन्द्रद्वारा नियुक्त भई मोफसलमा जान्थे । केन्द्रको शक्ति कमजोर हुँदा यिनै अधिकारीहरूले स्वतन्त्र राज्य खडा गर्दा मध्यकालमा नेपाल विभिन्न ससाना राज्यहरूमा विभक्त हुन पुग्यो । सैन्य बल र जनताको आपसी मेलकै कारण खसिया साम्राज्य त्यति शक्तिशाली हुन पुगे । र जनइच्छा बुझ्न नसक्दा बाइसी चौबिसी राज्यहरू सिर्जना हुन गए । सेना र जनताले साथ नदिँदा उपत्यकाको वैभवशाली तीन राज्यहरू विलय हुन पुगे ।

गोरखाजस्तो सानो राज्यले विजय अभियान सञ्चालन गरी कालान्तरमा नव नेपाल निर्माण हुन गयो । त्यस क्रममा सेना र जनताले पृथ्वीनारायण शाहलाई उल्लेख्य सहयोग गरेका थिए । एकीकरण अभियानका लागि आवश्यक हातहतियार खरिद गर्न घरघरबाट गोरखालीहरूले आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरेका थिए ।

युद्धको मैदानमा खटिनका लागि गन्धर्व (गाइने), पण्डित तथा गाउँका मुखियाजस्ता तत्कालीन समाजमा हैसियत भएकाहरूले सेनालाई साथ दिएका थिए । सोही कारण बृहत् नेपाल निर्माण हुन पुग्यो । महाकाली पश्चिमका जनताले सेनालाई साथ नदिँनु नै अङ्ग्रेजसँग नेपालले घुँडा टेक्नुपर्नाको एउटा प्रमुख कारण बन्न गयो ।

नेपाल–अङ्ग्रेज युद्धमा कतिपय अवस्थामा महिलाहरूसमेत युद्धका मैदानमा खटिएका थिए । नेपाल–भोट युद्ध सन् १७८८ देखि १७९१ मा स्थानीय जनताको सक्रिय सहभागिता थियो । राष्ट्रिय स्वार्थलाई ध्यान दिँदै शासकहरूले लिएको रणनीतिमा उनीहरू सामेल भए । नेपाल भोट युद्धमा कतिपय भारदारहरू बहादुर शाहका पक्षमा थिएनन् र नेपाल अङ्ग्रेज युद्धताका पनि भीमसेन थापाको नीतिसँग विमति राख्ने भारदारको जमात ठूलै थियो तर युद्धको घोषणा भइसकेपश्चात् उनीहरूले तन, मन र धनले राज्यनीतिमा सहयोग गरे । राष्ट्रिय स्वार्थमा एकताबद्ध हुने नेपालको गौरवमय परिपाटीलाई अनुशरण गर्न नसकेको आभास वर्तमान सन्दर्भमा विकसित राजनीतिले हुन थालेको छ । यो शुभ सङ्केत होइन ।

पृथ्वीनारायण शाहको मृत्युपछि नेपालमा राजनीतिक स्थिरता कायम हुन सकेन र षड्यन्त्रकारी राजनीतिले प्रश्रय पायो । तत्कालीन शासकहरूको स्वार्थ र उनीहरूको दीर्घकालीन दृष्टिको अभावले अङ्ग्रेजसँग सन् १७९२ को व्यापारिक सन्धि र सन् १८०१ को मैत्री सन्धि हुन पुगेका थिए । यी दुवै सन्धि नेपालको राष्ट्रिय हितविपरीत थिए, जसको कारणले पनि नेपाल अङ्ग्रेज युद्ध हुन गयो ।

नेपाली सेनाले कुनै गुटउपगुटमा नलागी शासक जो वा राजा भए उनीहरूकै आज्ञा पालन गर्दै गयो । यो नै सेनाको धर्म थियो । प्रतापसिंह शाह तथा बहादुर शाह, बहादुर शाह तथा राजेन्द्रलक्ष्मी र बहादुर शाह तथा रणबहादुर शाहबीचको सङ्घर्ष एवं विवादमा सेनाले शासककै आज्ञा पालन गरेको छ । यदि सेनाले पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहने थियो वा थिएन ? सोको हेक्का सबैले राख्नै पर्दछ ।

नेपालले प्राथमिक कालदेखि सन् १९२८ सम्म भोटसँग धेरै पटक युद्धमा होमिनुपरेको तथ्य भेटिन्छ । जङ्गबहादुरको समयमा भएको युद्धमा नेपालले सानदार सफलता पाई सन् १८५६ को थापाथली सन्धि भयो । यस सन्धिमा नेपालले धेरै एकातर्फी सुविधा प्राप्त गरेको थियो । यसैगरी सन् १८८३–८४ मा नेपालका व्यापारी रत्नमान र भोटकी महिलाबीचको सानो झगडाले उग्ररूप लिई युद्ध नै हुने स्थिति देखाप¥यो ।

यसैगरी भोट चीन सङ्घर्ष (१९०८–१२)मा भोटमा रहेका नेपालीहरूको रक्षाका लागि नेपालले सेना पठाउने व्यापक तयारी गरेको थियो । सन् १९२८ मा एकजना रैतीको मामलामा भोटसँग युद्ध हुने स्थिति नै देखापरेको थियो । यी सबै सङ्गीन घटनामा नेपाली पक्षले बाटोघाटो मर्मतसम्भार गरेर, खाद्यान्न सहयोग गरेर, घोडा खच्चड, चौँरीजस्ता भारी बोक्ने जनावर सहयोग गरेर युद्धमा सगाएका थुप्रै उदाहरण छन् ।

सन् १९२८ को घटनामा त थाकखोलाका हितमान शेरचनले मुस्ताङ क्षेत्रबाट भोट प्रदेश प्रवेश गर्ने फौजका लागि जति रासन आवश्यक पर्छ त्यो उपलब्ध गराउने वचन दिएका थिए । हो कतिपय स्थानमा स्थानीय प्रशासकहरूले सही कार्य गरेका थिएनन् र सो खुल्नेबित्तिकै दण्डित पनि भए । राष्ट्रलाई सङ्कट परेको बेलामा आआफ्नो समस्यालाई थाती राखी सरकारलाई उदार दिलले सहयोग गरेका उदाहरण नेपालको इतिहासकै विशिष्ट पक्ष हो ।

नेपाली सेनाले छिमेकी मुलुकलाई सहयोग गरी धेरै ठूलो गुन लगाएका घटना पनि छन् । लिच्छवीकालीन राजा नरेन्द्रदेवले चिनियाँ बादसाहका दूतलाई उत्तर भारतमा अपमान गरेको घटनामा नेपाली फौज पठाई सम्बन्धितलाई दण्डित गरिएको थियो । चीनको अफिम युद्ध र ताइपिङ विद्रोहमा पनि नेपालले सेना पठाउने वचन दिएको थियो तर ती अनुरोध स्वीकार भएनन् ।

सन् १८५७ को सिपाही विद्रोह र १९४८ को हैदरावादको आन्दोलन दबाउन नेपाली सेनाले सार्थक भूमिका निर्वाह गरेको थियो । प्रथम र दोस्रो विश्वयुद्धमा त नेपालीको वीरता र सुरताको परिचय विश्वले नै पायो । उल्लिखित घटनापश्चात् विश्वका ठूला राष्ट्रहरूले नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न उत्कट चाहना देखाए । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्य भएपछि विश्व शान्ति स्थापनार्थ नेपालीले अहम् भूमिका निर्वाह गरेको छ । हालसम्म ४३ भन्दा बढी शान्ति स्थापना गर्ने मिसनमा नेपाली सेनाले आफ्नो विशेष उपस्थिति जनाएको छ ।

नेपाली सेना प्रमुखहरूले अन्तर्राष्ट्रिय विवादहरूमा मध्यस्थता गरी विवाद अन्त्य गराएका घटनाहरू पनि छन् । सन् १८५६ को थापाथली सन्धिले भोटमा नेपाली आवासीय दूत (जसलाई वकिल भनिन्थ्यो) राख्न पाउने एकतर्फी अधिकार प्राप्त गरेको थियो । यसपछि यसमा नियुक्त भएका २० जनामध्ये दुईजनाबाहेक सबै सैनिक अधिकारीहरू नै थिए ।

सन् १९०३–०४ को अङ्ग्रेज भोट विवादलाई मध्यस्थता गरी १९०४ को ल्हासा सम्झौता गराउन नेपाली वकिल कप्तान जितबहादुर खत्रीको कौशल प्रशंसनीय रहेको छ । उनको कूटनीतिक सुझबुझको अङ्ग्रेज अधिकारीहरूले समेत सराहना गरेका थिए र सम्मानजनक पदकसमेत प्रदान गरेका थिए । राणा शासकका खलकबाहेक जनताबाट पदक पाउने पहिलो कप्तान उनै भए ।

यसैगरी भोट–चीन सङ्घर्षको दौरानमा नेपाली वकिल कप्तान लालबहादुर बस्नेतले आफ्नो कुशल कूटनीतिक परिचय दिन सफल भए । यही सङ्घर्ष भएकै बखत चीनमा सन् १९११ को क्रान्ति भई गणतन्त्र स्थापना भयो । भोटमा फौज चिनियाँ बादसाहको आदेश लिएर आएका थिए । यसकारण गणतन्त्र भएपछि ती चिनियाँहरूको जीउधनको सुरक्षा गरी सुरक्षित तबरले भोटको सीमापार गराउन नेपाली सैनिक अधिकारीहरूले भगीरथ प्रयत्न गरे । नेपाली वकिल र उनका सहयोगीका कारण सङ्घर्ष मात्र अन्त्य भएन चिनियाँ फौजले सुरक्षित भई भोट सरहद छाड्न सके ।

राणाकालको अन्त्यतिर आएर निजामती र सैनिक प्रशासन पृथक भएपछि स्थानीय प्रशासनका हाकिम सैनिक अधिकारी नहुने व्यवस्था भयो । नेपाली सेनाले राष्ट्रको सुरक्षाबाहेक मुलुकलाई अन्य महत्त्वपूर्ण सेवा प्रदान गर्दै आएको छ । मुलुकलाई गम्भीर सङ्कट परेको बेलामा नेपाली सेनाले तदारुकता साथ कार्यसम्पादन गरेका अनेक उदाहरण छन् ।

भूकम्प, आगलागी, बाढीपहिरोजस्ता दैवीप्रकोपको समयमा सेनाले आफ्नो सशक्त उपस्थिति देखाई सङ्कटमोचन गर्न सहयोगी भएको छ । नेपालका दुर्गम स्थानमा बाटो बनाउने काममा त नेपाली सेना सदैव अगाडि छ । नेपालका पहाडी मार्गमा मोटर बाटो बनाई यातायात सञ्चालन गर्न सेनाले खेलेको भूमिका त जगजाहेर नै छ ।

काठमाडौँ–तराई जोड्ने द्रुतमार्ग पनि सेनाकै तैनाथीमा निर्माण भइरहेको छ । कोरोना महामारीमा सेनाले पु¥याएको योगदान र चीनबाट भ्याक्सिन ल्याउने कार्यमा देखाएको तत्परता दुवै प्रशंसनीय छन् । नेपाली सेना एक यस्तो आरक्षित शक्ति हो जसका कारण सङ्कटका बेलामा अनेक उल्झनबाट पार पाउन मुलुकलाई सहज भएको छ ।

नेपाली सेनाको आफ्नै संस्कृति, परम्परा र धर्म छ । यसैकारण सेनालाई राजनीतिबाट सदैव पृथक राखी स्वतन्त्र रूपमा कार्य गर्न दिनुपर्छ । यसको मतलब सेनालाई सबै छुट दिने भन्ने कुरा किमार्थ होइन । स्थापित विधि, मान्यता र सेनाको धर्ममा खलल हुने कार्य गर्न हुँदैन । २०४६ सालपश्चात् यदाकदा सेनालाई राजनीतिमा तान्ने गतिविधि नभएका पनि होइनन् तर यस्ता कार्यबाट मुलुकले हानि सिवाय केही हुँदैन ।

नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र मुलुकको भलाइका लागि वीरगति प्राप्त गरेका सम्पूर्ण वीर नेपाली सेनाको सपनालाई साकार तुल्याउन पनि सेनालाई राष्ट्रिय शक्तिको रुपमा राख्नुपर्छ । नेपालको इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले पु¥याएको योगदान स्मरण गर्नु नै आजको दिनको मूल सन्देश हो । वीर नेपाली सेनालाई सलाम ! (लेखक राजनीतिक विश्लेषक हुन्)

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्