Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः दिदीबहिनीसँग प्रेम उदयको कुरा गरेर आफैं किन अस्ताइन्

बुधबार, फागुन १४, २०८१

काठमाडौं– सिपाहीमा भर्ती भएर इन्स्पेक्टरमा नाम निकालेकी सन्तोषी महतको मृत्यु प्रकरणअघि विभिन्न भावुक विषय बाहिर आएका छन्।

पहिलो त सशस्त्र इन्स्पेक्टरमा नाम निकालेको खुशी साट्दै एक महिनाअघि अस्ट्रेलिया उडेका बुवा आमा रोविन्द्रबहादुर र कमला महतको हर्षमा बादल छायो। छोरी इन्स्पेक्टर भएको हर्षविभोरतालाई राम्रोसँग अनुभव समेत गर्न नपाई उनैको चितामा आगो लगाउनुपर्ने दिन आयो।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८, लाँगर्चे महत दम्पती त्यहाँ ठूली छोरीज्वाइँसँग अस्ट्रेलिया गएका थिए। 

भर्खरै इन्स्पेक्टरमा नाम निकालेर तालिमसमेत उत्कृष्ट भइरहेको बताएकी सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन्। 

दोस्रोचाहिँ सन्तोषीले दिदीबहिनीसँग आफ्नो प्रेमको उदय भएको हर्ष साटेको केही समयमा नै अस्ताउने निधोमा पुगिन्।

एउटी छोरी सन्तोषी महत सशस्त्र प्रहरीमा इन्स्पेक्टर, छोरा विनोद नेपाली प्रहरीको असई। ठूली छोरी र ज्वाइँ अस्ट्रेलियामा र कान्छी छोरी काठमाडौंमा अध्ययनरत थिइन्। 

परिवारले ११ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए। परिवारको किटानी जाहेरीका आधारमा कास्की प्रहरीले सशस्त्र प्रहरीको २३ नम्बर गण तनहुँमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाई ११ गते नै पक्राउ गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। 

महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी सन्तोषीको मुखबाट रगतसमेत बगेको देखिँदा परिवारमा शंका उब्जिएको थियो। 

प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा इन्स्पेक्टर जोशीमाथि अनुसन्धान गरिरहेको छ भने घटनाको छानबिनका लागि सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरेको छ।

‘यो घटनाको भित्री रहस्य के हो? त्यसबारेमा छानबिन समितिले पनि अध्ययन गरिरहेको छ। नेपाल प्रहरीका तर्फबाट पनि अनुसन्धानको काम भइरहेको छ’, सशस्त्र प्रहरी अधिकारी भन्छन्,‘त्यस्तो के कारण थियो भन्ने विषयमा पनि जोशीलाई सोधपुछ जारी छ।’
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्