Nic Ad Nic Ad
Nic Ad Nic Ad

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु

बुधबार, फागुन १४, २०८१

जेरुसेलम- इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी रहेको जनाइएको छ । 

प्यालेस्टाइनी लडाकू समूह हमासले इजिप्टको निगरानीमा भएको रिहाइका लागि भएको सहमतिको पुष्टि गरेको छ ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वमामिला हेर्न तोकिएका अधिकारी स्टिभ विटकोफले इजरायली प्रतिनिधिहरू युद्धविराम सम्झौताको अर्को चरणका लागि वार्ताका लागि अघि बढिसकेको बताएका छन् ।

“हामीले धेरै प्रगति गरिरहेका छौँं । इजरायलले अहिले एउटा टोली पठाउँदैछ,” विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भने ।

“यो वार्ता दोहामा वा कायरोमा हुनेछ । वार्तामा इजिप्ट र कतारका मध्यस्थ अधिकारीसहित फेरि वार्ता सुरु हुनेछ,” उनले भने ।  

यद्धविरामको पहिलो चरण शनिबार सकिँदैछ तर फेब्रुअरीको सुरुमा सुरु हुने भनिएको बाँकी प्रक्रियाका लागि तय गरिएको वार्ता सुरु भएको छैन ।

हमासले दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकलाई एकैपटक रिहा गर्न तयार रहेको बताएको छ ।

समूहले आइतबार इजरायलले ६०० प्यालेस्टिनी कैदीको रिहाईमा ढिलाइ गरेर गाजा युद्धविरामलाई खतरामा पारेको आरोप लगाएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूलाई कसरी मुक्त गरिएको छ भन्नेबारे चिन्ता व्यक्त गर्दै ढिलाइलाई उचित ठहर्‍याएका छन् र यस प्रक्रियालाई ‘अपमानजनक समारोह’ को रूपमा वर्णन गरिएको छ । 

 ‘सम्मानजनक आदानप्रदान’

जनवरी १९ मा युद्धविराम लागू भएयता हमासले सार्वजनिक समारोहमा रेडक्रसका अधिकारीमार्फत् गाजाबाट २५ जना इजरायली बन्धकलाई रिहा गरेको छ । इजरायलले नकाबपोश, सशस्त्र लडाकुहरूले बन्दीहरूलाई नाराले सजाइएको मञ्चमा राखिएको र सम्बोधन गर्न लगाई अपमान गर्ने काम भइरहेको दाबी गर्दै इजरायली नियन्त्रणमा रहेका करिब ६०० प्यालेष्टिनी कैदी बन्दीको रिहाइमा ढिला गरेपछि यसद्धविराम वार्ता अवरुद्ध हुने अवस्थामा पुगेको थियो । 

इजरायलले एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई रिहा गरिसकेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सबै पक्षलाई बन्दी र बन्धकको अदलाबदली ’मर्यादित र निजी तवरमा’ गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्