प्रचण्डको ‘मधेस म्याराथन’ले माओवादी तङ्ग्रिन सक्ला? मत विश्लेषणसहित हिसाब किताब
काठमाडौं– स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले लोकप्रिय मत ल्याएपछि अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हौसिएका छन्।
सँधै सत्तामा रहन छटपट गरिरहने अहिले उनी प्रतिपक्षीको मुख्य कित्तामा उभिएपछि अभियानमा जुटेका छन्। माओवादीको तराई मधेस हुलाकी अभियान जारी छ।
वैशाखदेखि मध्यपहाडी लोकमार्गको अभियान गरिने प्रचण्डले घोषणा गरिसकेका छन्। यति मात्र होइन, प्रचण्डले आगामी आवधिक निर्वाचन ०८४ मा पहिलो दल बन्ने दाबी समेत गरिरहेका छन्।
प्रचण्डको अहिले चलिरहेको मधेस म्याराथनले माओवादी तङ्ग्रिने स्थिति बन्ला कि नबन्ला भन्नका लागि उक्त दलले यसअघि चुनावमा ल्याएको मतको हिसाब किताब पनि मुख्य बन्दछ।
२०७९ सालको आमनिर्वाचनको आँकडालाई आधार मानेर विश्लेषण गर्ने हो भने, प्रत्यक्षतर्फ १८ सीट (नेसपाका महिन्द्रराय यादव सहित) जितेको माओवादीलाई त्यहि कायम राख्न पनि मुस्किल रहने देखिन्छ।
यद्यपि माओवादीको यो अभियानले केही हदसम्म उसलाई सिट बचाउनका लागि सहयोग हुन सक्छ। यसका लागि उसले नेपाली कांग्रेस र नेकपा एमालेलाई ‘स्क्याम’का रुपमा नकारात्मक टिप्पणी बाक्लो बनाएको छ।
गएको निर्वाचनमा समानुपातिकतर्फ माओवादीले १६५ मध्ये नौ वटा निर्वाचन क्षेत्रमा मात्र अन्य पार्टीभन्दा बढी मत पाएको थियो। यो तथ्यले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी (नेसपा)को साथ नपाएको भए माओवादीको सीट २०७९ सालमै अहिलेको भन्दा लगभग आधा घट्ने थियो।
प्रत्यक्षतर्फ जितेकामध्ये जम्मा पाँच वटा क्षेत्रमा मात्र समानुपातिकतर्फ माओवादीले सबैभन्दा बढी मत ल्याएको छ। ती क्षेत्र हुन्, गोरखा–२ (पुष्पकमल दाहाल प्रचण्ड), रुकुम पूर्व (पूर्णबहादुर घर्ती मगर), रोल्पा–१ (वर्षमान पुन), कालीकोट–१ (महेन्द्रबहादुर शाही) र रुकुम पश्चिम (जनार्दन शर्मा)। यी क्षेत्रमा माओवादी समानुपातिकतर्फ पहिलो स्थानमा थियो।
समानुपातिकमा सहयात्री दल कांग्रेस पहिलो स्थानमा रहेका पाँच क्षेत्रमा माओवादीले आफ्नो उम्मेदवारलाई जिताएको थियो। अमनलाल मोदीले जितेको मोरङ–४ मा समानुपातिकमा माओवादीले नौ हजार ७६० मत पाउँदा कांग्रेसले १९ हजार ५५५ पाएको थियो।
कांग्रेसले १६ हजार २८३ र माओवादीले आठ हजार ३४७ मत ल्याएको बाग्लुङ–२ बाट माओवादीका देवेन्द्र पौडेल २४ हजार ७९४ मत सहित निर्वाचित भएका थिए।
समानुपातिकमा कांग्रेसले सबैभन्दा बढी मत ल्याएको हुम्ला–१ बाट माओवादीका छिरिङ लामा र जाजरकोट–१ बाट शक्ति बस्नेत सांसद बनेका थिए।
त्यस्तै, कांग्रेसले समानुपातिकमा १४ हजार ९९३ मत पाएको सर्लाही–२ मा गोलाकारभित्र हँसिया हथौडा चिह्नबाट लडेका महिन्द्रराय यादव विजयी भए। नेसपाले गत चुनाव माओवादीकै चिह्नबाट लडेको थियो। यादव अहिले बाबुराम भट्टराईको नेतृत्वको नेसपा छाडेर माओवादीमा प्रवेश गरेका छन्।
६ दलीय गठबन्धनको समर्थन पाउँदा पनि माओवादीका दुई उम्मेदवार झिनो मतान्तरले निर्वाचित भएको उदाहरण छ। सिन्धुली–२ मा माओवादीका गंगा कार्की ३१५ र दाङ–२ मा रेखा शर्मा १९३ मतान्तरले विजयी भएका थिए।
शर्माले एमाले महासचिव शंकर पोखरेल र कार्कीले बालकृष्ण सिवाकोटीलाई पराजित गरेका थिए। समानुपातिकमा सिन्धुली–२ मा एमालेले १७ हजार १४९ र माओवादीले १५ हजार ८२६ तथा दाङ–२ मा एमालेले २३ हजार ५६८ तथा माओवादीले १० हजार ८२० मत पाएका थिए।
१५ हजार ३९४ मत सहित माओवादी पहिलो दल बनेको महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भए। कोइरीसँग माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतले पराजित भएका थिए। समानुपातिकमा माओवादीले धेरै मत पाएका क्षेत्रहरू सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेतीले माओवादीका नरेन्द्र साह कलवार र गोरखा–१ मा कांग्रेसका राजेन्द्र बजगाईंले एमालेका रामशरण बजगाईंलाई पराजित गरेका थिए।
गठबन्धनबाट लोसपाले उम्मेदवारी दिएको सर्लाही–१ मा माओवादीले समानुपातिकमा नौ हजार ५०६ मत पाएको थियो। यस क्षेत्रमा लोसपाका रामप्रकाश चौधरीले एमालेका राजनारायण साहलाई पराजित गरेका थिए।
गठबन्धन गर्दा प्रत्यक्षमा केही नाफा भए पनि आफ्नो भनिएको समानुपातिक मतमा माओवादी कमजोर थियो। ‘प्रचण्डले यो हिसाब गर्नुभएको छ। त्यसैले अब ०८४ सम्म नै अभियान चलाएर समानुपातिक मत बढाउने योजना छ’, एक नेता भन्छन्,‘यसबाहेक विप्लवसँगको एकता र विभाजित माओवादीलाई एक ठाउँमा उभ्याउने अभियान पनि चल्नेछ।’
यति गरेर पनि माओवादीले क्षय भएको मतलाई आफूतिर आकर्षित गर्न सक्ने या नसक्ने भन्ने मतदाताको मनोविज्ञानमा भर पर्दछ। जसरी ०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय भयो त्यसरी नै ०८४ मा अन्य विभिन्न शक्तिको उदयमा माओवादीले पनि क्षति ब्यहोर्नुपर्ने हुन्छ।
ठूला तीन दलका संगठीत र क्रियाशील सदस्य मध्य माओवादी लगभग आधा मात्र रहेको छ। कांग्रेस र एमालेका लागि २–२ लाख मतको क्षति भए सोही हाराहारीमा माओवादीले पनि क्षतिलाई आत्मसाथ गर्नुपर्ने अवस्था आउन सक्ने विश्लेषण गरिन्छ।
यता, अन्तिम राजा ज्ञानेन्द्रको घोषणा र त्यसलाई साथ दिन राप्रपाले चलाइरहेको अभियानले मतदाताको मनोविज्ञान फरक हुन जाने निश्चितप्रायः छ। ‘माओवादीलाई जिताएर के पाइयो, राजा हटाएर केही परिवर्तन भएन’ भन्ने मत पनि बजारमा रहेको छ, जसलाई अझ बलियो बनाउनका लागि राप्रपाले पनि अभियान चलाइरहेको छ।
यस्तो अवस्थामा माओवादी एक्लै चुनावी मैदानमा जाँदा नोक्सानी त छँदै छ, अहिलेको मत जोगाउनका लागि पनि हम्मे हम्मे पर्न सक्छ। ‘स्थानीय तहको निर्वाचनको आँकडाले आम निर्वाचनमा काम नगर्न सक्छ’, राजनीतिशास्त्रका प्राध्यापकहरू भन्छन्,‘स्थानीय निर्वाचनमा आफूले चिनेका र भनेको मान्ने मनोविज्ञानमा मतदाता प्रभावित भएका हुन्छन्। आम चुनाव त्योभन्दा फरक हुन्छ।’