११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग
काठमाडौँ - सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।
तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ ।
सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरूमा शिव कुमार महतो नेतृत्वको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन, राधेश्याम झा नेतृत्वको शिवम् कन्स्ट्रक्सन छन् । यी तीनवटै कम्पनीहरू जनकपुरका हुन् ।
यस्तै, कार्लमाक्स श्रेष्ठ नेतृत्वको राजिता निर्माण सेवा सुर्खेत, सोना उल्लाह खाँ नेतृत्वको विपिन कन्स्ट्रक्सन पाल्पा, भिम तामाङ नेतृत्वको ए एण्ड डी कन्स्ट्रक्सन, गोपाल प्रसाद घिमिरे नेतृत्वको सूर्यविनायक कन्स्ट्रक्सन दाङलाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।
यस्तैगरी श्याम कुमार श्रेष्ठ नेतृत्वको बीटीरजयबाबा जेभी काठमाडौं, तिलकबहादुर मल्ल नेतृत्वको आकांक्षा कन्स्ट्रक्सन काठमाडौं र बिना बीसी नेतृत्वको यज्ञश्वरी निर्माण सेवा बाँकेलाई पनि स्पष्टीकरण सोधिएको छ ।