नेभिगेशन
राजनीति

ओलीको गृह जिल्लामा रास्वपाको भाँडभैलो, रविका झापा सभापतिलाई डीपीको डन्डा?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा भाँडभैलो मच्चिएको छ।

रास्वपाको गुटबन्दी झापा जिल्ला समितिमा देखा परेको हो। जिल्ला समितिले आफ्नै सभापति उमेश खरेललाई कारबाहीको लागि केन्द्रमा सिफारिस पठाएपछि रास्वपाको भाँडभैलो सतहमा आएको हो।

खरेलमाथि आर्थिक अपचलन र नैतिक चरित्रमा प्रश्न उठाउँदै जिल्ला समितिले तत्काल निलम्बन गरी थप कारबाही अघि बढाउन पत्रमा लेखिएको छ। आर्थिक र नैतिक चरित्रमाथि पनि छानबिनका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको हो। 

आइतबार पत्र आएपछि रास्वपाको अनुशासन आयोगले यससम्बन्धी छानबिन गरिरहेको छ। पत्र प्राप्त भएपछि कार्यवाहक सभापति डीपी अर्यालले अनुशासन आयोगमा पठाएका थिए।

खरेल रास्वपा झापाका संस्थापक जिल्ला सभापति हुन्। उनी २०७९ असारमा पार्टी स्थापनासँगै उनी सभापति चयन भएका थिए। उनी सभापति रवि लामिछानेनिकट मानिन्छन्। 

लामिछाने सहकारी प्रकरणमा मुद्दा मामिलामा रहेका बेला कार्यबाहक सभापतिको जिम्मेवारी पाएका उपसभापति डीपी अर्याल पक्षले कारबाहीको डन्डा चलाएको बताइएको छ। 

यसपटक गम्भीर समस्या दोहोरिएको भन्दै उनलाई तत्काल निलम्बन गर्न झापा जिल्ला समितिका सबै जना एकै ठाउँमा उभिएको बताइन्छ। 

यसअघि रास्वपाकै कोसी प्रदेश सभापति राजेश तिमिल्सिनालाई पनि निलम्बन गरिएको थियो। तत्कालीन महामन्त्री डा मुकुल ढकाललाई कारबाही गर्न गरेको हस्ताक्षर फिर्ता लिएका उनलाई सोही आधारमा निलम्बन गरेको भनिएको थियो।

खरेलले भने झापा जिल्लामा रास्वपाका नेता कार्यकर्ताको गुटबन्दी चलेको विषयमा जानकारी पाए पनि आफूमाथि केन्द्रले केही पनि सोधपुछ नगरेको विषय विवरणमा आएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति